माथागढीको सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा । माथागढी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।

गाउँपालिकाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भएको योजना तथा कार्यक्रमको कार्यसम्पादन र सेवा प्रवाहका विषयमा जानकारी गराउन र सुधारका लागि सुझाव संकलन गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

गाउँपालिकाको आयोजना तथा सञ्चार मञ्च पाल्पाको सहजीकरण भएको सुनुवाइमा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले प्रथम चौमासिकमा भएको कार्यसम्पादन प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले योजना कार्यान्वयनमा गाउँपालिकाले प्राथमिकता दिएको बताउदै हालसम्म समग्रमा १८ प्रतिशत भन्दा बढी प्रगति भएको जानकारी गराउनुभयो ।
कार्यक्रममा सहजकर्ता विजयकुमार बौडेलले नागरिक सर्वेक्षण प्रतिवेदन, बहिर्गमन प्रतिवेदन र नागरिकका सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरुले सडक, खानेपानी, सिंचाई, कृषि, सहकारी, स्वास्थ्य, शिक्षा, खेलकुद, विद्युतलगायतका क्षेत्रमा सकारात्मक परिर्वतन भएको बताउदै अझै पनि वडागत रुपमा समानुपातिक विकास नभएको गुनासो गरेका थिए । उनीहरुले विकास र सेवा प्रवाहका विषयमा प्रश्न जिज्ञाशा र सुझाव राख्दै सडकको स्तरोन्नति, सिंचाई विकास योजना संचालन, आबश्यक स्थानमा विद्युत विस्तार, सडक वत्तीको व्यवस्था, स्काभेटरको मूल्यमा एकरुपता कायम, गाउँपालिका अपाएक भएकोले यातायातको व्यवस्थापन गर्नुपर्ने, योजनाको प्रभावकारी अनुगमन, खानेपानीको व्यवस्थापमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरुको प्रश्न, जिज्ञाशा र सुझाव प्रति गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले धन्यवाद तथा आभार प्रकट गर्दै स्थानीय सरकार जनताको नजिकको सरकार भएकाले सरहकारसँग अपेक्षा बढी हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बिच काम गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोले माग र आवश्यकताको प्राथमिकीकरण निर्धारण गरी क्रमिक रुपमा कार्र्यसम्पादन गरिएको बताउनुभयो ।

नागरिकको सहजताका लागि सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकूदका, कृषि र सामाजिक विकासमा नतिजामुखी काम भएको अध्यक्ष चिदीको भनाइ थियो । उहाँले काम गर्दा हुनसक्ने कमिकमजोरीलाई तत्काल सच्चाउनका लागि नै सुनुवाइ कार्यक्रम नियमित गर्ने गरिएको बताउदै नागरिकको अपेक्षा अनुसार गुणस्तरीय सेवा प्रवाहमा गाउँपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले उठेका विषयमा उपाध्यक्ष विष्णुमाया लुङ्चे, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगर, प्रशासकीय अधिकृत नित्यानन्द खनाल, इन्जिनियर धमेन्द्र कुमार यादवलगायतले जवाफ दिनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय