
पाल्पा । तानसेन नगरपालिकाले नगर भित्रका उत्कृष्ट ४० उद्यमी खोज्न थालेको छ । वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रममार्फत उद्यमीहरूलाई समृद्धिको बाहक बनाउने लक्ष्यसहित उद्यमी खोज्न थालिएकोे हो ।
कार्यक्रमका लागि तानसेन नगरपालिका र दायित्व संस्था बीच सहकार्य गरी उद्यमीहरुबाट आवेदन आह्वान गरिएको छ । पौष १३ गतेसम्म समयसीमा तोकेर ग्रामीण स्तरका लघु तथा साना उद्यमहरू,स्तरीकरण र स्तरोन्नति गर्न चाहने वृद्धिमुखी उद्यमहरु, कृषि पशुपालन तथा उत्पादनमा आधारित उद्यम, जडीबुटी तथा कन पैदावारमा आधारित उद्यम, पर्यटन (सामुदायिक होमस्टे र रिसोर्ट)मा आधारित उद्यमहरू, ढाका तथा करुवा र सेवा उत्पादनमा आधारित उद्यमीहरुबाट आवेदन माग गरिएको छ ।
नगरका सबै वडाबाट प्राप्त उद्यमीको आवेदनबाट ४० उद्यमी छनोट गरी व्यवसाय योजना मूल्याङ्कन, उद्यम शिविर, उद्यमीको वित्त र बजारबारे प्रशिक्षणको ज्ञान र सीप विकास अभिवृद्धि गरिने दायित्वका वरिष्ठ कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताउनुभयो । उहाँले जसबाट आगामी चरणमा उत्कृष्ट २० उद्यमीलाई व्यवहारिक व्यवसायिक प्रदर्शन मूल्याङ्कन नवप्रवर्तन शिविर, उद्यम नवप्रवर्तन सीप विकास, बजार पहुँचमा सञ्जालिकरण र प्रत्येक उद्यमीलाई उद्यम वृद्धि प्रविधि पुरक साझेदारी गरी उद्यमीको स्तरीकरण गरिने बताउनुभयो । अन्तिममा दश जना उत्कृष्ट उद्यमीको स्थलगत अनुगमन तथा मूल्याङ्कन, बजारीकरण, मूल्य श्रृङ्खला विकास, र उत्पादन क्षमतामा सुधार, बजार विस्तार, प्रविधि नवप्रवर्तन र अनुकूलन पुरक साझेदारी साथै विक्री वृद्धि र मार्केटिंग कोषमा सहयोग गरिने वरिष्ठ कार्यक्रम प्रबन्धक पोख्रेलको भनाइ छ ।
तानसेन नगरपालिकाको वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ अनुसार दायित्व संस्थाको सहलगानीमा कार्यक्रम गर्ने गरी सम्झौता गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहाँले तानसेन नगरवासीको समावेशी आर्थिक रुपान्तरणका लागि रोजगारी र आय अभिवृद्धि गर्न कार्यक्रमले मद्दत गर्नेगरी काम गर्न निर्देशन समेत दिनुभयो ।
उदयमान उद्यमीहरुको वृद्धि विकास गर्ने र रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम गर्न लागिएको प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । उहाँले नगर भित्रका नागरिकलाई समृद्ध बनाउन नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यक्रमको मूल लक्ष्य ग्रामीण क्षेत्रमा साना र लघु उद्यमहरूलाई दुतिकरण गर्दै रोजगारी र आयवृद्धि गर्नु रहेको बताउनुभयो । उहाँले करिब ६ महिनाको कार्यक्रमका लागि नगरपालिकाले ५० लाख र दायित्व संस्थाबाट १० लाख लागत साझेदारीमा काम हुने बताउनुभयो ।
सहर तथा ग्रामीण क्षेत्रमा रहेका साना तथा लघु उधमहरुलाई क्षमतावान बनाउदै रोजगारी, आयआजर्न वृद्धि गर्ने, प्रदेश तथा संघ क्षेत्रमा शासकीय क्षमता सुधार गर्ने वरिष्ठ प्रशासकीय अधिकृत दुर्गा बहादुर थापाले बताउनुभयो । उहाँले उधमीहरुलाई सक्रिय बनाउने, नयाँ सीप प्रदान गर्ने र बिचौलियबाट बचाई, श्रममा आधारित बजार मूल्य प्राप्त गर्ने वातावरण तयार हुने बताउनुभयो । करुवा पत्रिकामा समाचार प्रकाशित छ ।







