
पाल्पा । रामपुर नगरपालिकाले ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता परिचयपत्र र सहायता सामग्री वितरण गरेको छ । दिवसको अवसरमा अपाङ्गता भएका ६ जनालाई परिचय पत्र प्रदान गरिएको छ । साथै एक जना श्रवण शक्ति कम भएका व्यक्तिलाई श्रवण सहायता सामग्री वितरण गरिएको हो ।
सामग्री वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता पुग्ने कानुन निर्माण भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या खेप्नु परेको बताउनुभयो । उहाँले फरक क्षमता भएका व्यक्तिहरुलाई समाज र राष्ट्र सबैले सम्मानजनक व्यवहार गर्न आवश्यक रहेको बताउनुभयो । शारीरिक रुपले अशक्त भए पनि उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नगर प्रमुख थापाले सरल जीवनयापनका लागि नगरपालिकाले आर्थिक र भौतिक दुबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नगर प्रवक्ता कपिल बहादुर खाँणले अपाङ्गता भएकाहरुको हक अधिकारका लागि विभिन्न सुविधा सहित जीवन उपयोगी सीप तथा तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
प्रशासकीय अधिकृत युवराज पन्थीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारको सुनिश्चितता संगै संरक्षणका लागि सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार र कानुनी व्यवस्था सम्बन्धी विषयमा सहजीकरण गर्नु भएको कार्यक्रम उपप्रमुख बाल कुमारी थापाको अध्यक्षतामा चलेको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो ।








