तिनाउको सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा । तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ ।

सार्वजनिक सुनुवाइमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकमा प्रवाह गरिएको सेवा र कार्यसम्पादनका विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले गाउँपालिकाको कुल विनियोजन रकम मध्ये चालु तर्फ ३९ करोड ५७ लाख ५८ हजार १ सय ६० रुपैयाँ र पुँजीगत तर्फ २५ करोड ३० लाख १७ हजार रुपैंयाँ बजेट कार्यान्वयन भैरहेको बताउनुभयो । जसमा चालु खर्च तर्फ २०.७२ प्रतिशत र पुँजीगत तर्फ ०.७४ प्रतिशत रकम खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सारुले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधि र नागरिकहरुले प्रश्न, जिज्ञासा र सुझाव राखेका र्थि । जसमा वडा तहमा कृषिको लागि बजेट तथा कार्यक्रम कम भएको, प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी नभएको, उपभोक्ता समितिले काम गर्दा गोजीबाट पैसा खर्च हुने अवस्था रहेको, उपभोक्ता समितिमा बस्ने मानिस नै पाईन छाडेको, बजार अनुगमन नहुँदा उपभोक्ताहरु ठगिएको, ग्रामीण सडकहरुको अवस्था बेहाल भएकोलगायतका विषयमा सुझाव व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न वडाबाट आएका नागरिकहरुले रैथानेबाली संरक्षणमा किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने, व्यवसायीहरु संग अबैधानीक रुपमा व्यक्तिगत हिसाबले रकम माग्ने व्यक्तिहरुको हैरानी पारेको हुँदा त्यसको सहजीकरण गाउँपालिकाले गरिदिनुपर्ने, सामाजिक सुरक्षा तथा लक्षित कार्यक्रम पारदर्शी बनाउन पर्ने, अपांगता भएका विपन्न परिवारको सूची अद्यावधिक गर्नुपर्ने, गाउँपालिकामा कर्मचारी धेरै हुने तर वडामा कर्मचारीहरुको अभाव हुने, शिक्षा क्षेत्रमा बजेट कम भएको, गाउँपालिकामा दालचिनीको सम्भावना राम्रो भएकाले त्यसको विस्तारमा प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्ने, गाउँपालिकाले दुधमा दिँदै आएको अनुदानमा वृद्धि गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रेम पाण्डेय, नेकपा एमालेका रोम बहादुर लम्तरी, नेकपाका राजेश श्रेष्ठलगायतले योजना फरफारक गर्न प्रक्रियागत रुपमा निकै झण्झट भएको, सामग्रीको दररेट र बजारभाउको मेल नहुँदा उपभोक्ताहरु मारमा परेको, वडा तथा पालिका बाट सूचनाहरु नागरिक सम्म सहज ढंगले नपुग्ने गरेको, टिप्परको समस्याले नागरिकले सास्ती पाएको, विद्युत लाइनमा समस्या भएको, प्राविधिकहरुले इष्टिमेट र मुल्यांकनको संयोजन मिलाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापाले सार्वजनिक सुनुवाइमा नागरिकको तर्फबाट आएका विषयहरु र खुल्ला छलफलबाट आएका सल्लाह सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्दै सुधारतर्फ ध्यान दिने बताउनुभयो ।

प्रश्न, सुझाव र जिज्ञाशाका विषयमा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले नागरिकका योजनाहरूलाई प्राथमिकताको आधारमा पुरा गर्ने बताउनुभयो । उहाँले सबै प्रकृयाहरू पूरा भएमा सेवा प्रवाहमा ढिलाइ नहुने बताउनुभयो । सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाउन गाउँपालिका प्रयासरत रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले नागरिकहरुले खानेपानीको समस्या, पर्यटन क्षेत्रको प्रबद्र्धन, संरक्षण र विकास, सडक निर्माण, पशु बिमा, कृषि कार्यक्रमलगायतका विषयमा दिएका सुझावलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय