
पाल्पा । मंसिर १९ गते शुक्रबारदेखि रुरुक्षेत्र धाममा श्रीभविष्यपुराण गो आराधना धान्याचल महायज्ञ हुने भएको छ । तानसेन १४ कुसेनीमा हुने महायज्ञ मंसिर २५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।
महायज्ञ मूल आयोजक समिति रुर गौसेवा आश्रमले मंगलबार पत्रकार सम्मेलन गरी धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, १८ पुराण र गाईलाई चिनाउन महायज्ञ गर्न लागिएको आश्रमका मुख्य संरक्षक शंकर गिरीले जानकारी गराउनुभयो ।
महायज्ञ अबधिमा दीपोत्सव, करोड दीप प्रज्वलन, विशाल भण्डारा र गौ महाआरती जस्ता विशेष कार्यक्रम गरिने उहाँले बताउनुभयो । साथै भजन प्रतियोगिता समेत आयोजना गरिएको गिरीको भनाइ छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार, तेस्रो हुने समूहले १० हजार र सान्त्वना हुनेसमूहले ५ हजार पुरस्कार व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
महायज्ञमा योगाचार्य श्री सरितानन्दी माताजी प्रमुख वाचक र शंकराचार्य माता हेमानन्द गिरोजी महाराजको समेत विशेष प्रवचन हुने यज्ञ आयोजक समितिले जनाएको छ ।
रुरु गौसेवा आश्रमका संस्थापक अध्यक्ष राजुराणा मल्लले पछिल्लो समय गाईलाई विभिन्न बहानामा सडकमा छाडने गरेको र धेरै जासो रुरु क्षेत्र धाम रिडीमा धेरै गाईहरु देखिएकोले व्यवस्थापनका लागि आफूहरुले काम सुरु गरेको बताउनुभयो । उहाँले गाईसंग पाँच वटा अमृत रहेकोले समाजमा दुध, दही ध्यू, गौंत र गोवर उपलब्ध गराउन सफल भएको बताउनुभयो ।
वार्षिक रुपका हुने गौशालाको खर्च व्यवस्थापन गर्नका लागि महायज्ञ आयोजना गर्ने गरिएको साथै स्थानीय सरकारहरुको पनि सहयोग प्राप्त भैरहेको आश्रमले जनाएको छ । पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले पवित्र कार्यका लागि संचार जगतले प्रचारप्रसारमा सघाउने बताएका थिए । साथै महायज्ञसहति आश्रम अन्य गतिविधिको आर्थिक पारदर्शिता हुनुपर्ने बताए । अहिले गौशालामा एक सय ३५ गाई रहेको र एउटा गाईलाई पाल्न मासिक दुई हजार एक सय रुपैयाँ खर्च लाग्ने आश्रमले जनाएको छ ।









