
पाल्पा । हेरचाह सम्बन्धी घरायसी कामका कारण महिलाहरु अहिले पनि श्रम बजारमा सहभागी हुन नसक्ने अवस्था रहेको तानसेनमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
मानव अधिकार चलचित्र केन्द्र, उन्नति र सञ्चार मञ्च पाल्पाको संयुक्त आयोजनामा भएको केयर काम र अर्थतन्त्र विषयक कार्यशालामा सहभागीहरुले अझैपनि घरायसी काममा महिलाहरुले समय धेरै खर्चनु पर्ने र सो कामको मुल्याँकन नुहुँने गरेको बताएका हुन ।
कार्यशालामा मानव अधिकार चलचित्र केन्द्रका विकास परामर्शदाता सुर्यप्रसाद न्यौपानेले केयर कामको अवस्था र सम्भावनाका साथै सुधार गर्नु पर्ने विषयमा प्रस्तुति राख्दै महिलाहरुको पुर्नउत्पादक भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले समतामुलक समाज निर्माणका लागि महिला र पुरुष दुबैको भूमिकाको आर्थिक मुल्यांकन हुनुपर्नेमा जोड दिनुभयो । नेपालमा ८५ प्रतिशत महिलाहरुले बेतलबी रुपमा घरायसी काम गर्ने भन्दै त्यसको मुल्यांकन नहुँदा समस्याहरु देखा पर्ने गरेको परामर्शदाता न्यौपानेको भनाइ थियो ।

मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीले नेपालमा आर्थिक रुपले सक्रिय नरहेका ३९.७ प्रतिशत महिलाहरुले हेरचाह सम्बन्धी काममा सहभागी रहेका कारणले अन्य काममा सहभागी हुन नसक्ने गरेको तथ्यांक रहेको बताउनुभयो । उहाँले विपद्को समयमा महिलाहरुको स्याहार सुसार, घरायसी तथा सामाजिक लगायतका हेरचाह सम्बन्धी कामको भार बढ्ने बताउनुभयो । नेपालमा अबैतनिक सेवामुलक र घरेलु कामले देसको कुलग्राहस्थ उत्पादन (जीडिपी) को ६ देखि १७ प्रतिशत योगदान पुराउने गरेको अध्यक्ष खत्रीले बताउनुभयो ।

कार्यशालामा नेपाली कांग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमाले अध्यक्ष ओम बहादुर घर्तीमगर, नेपाल कम्युनिष्ट पार्टीका नेता राजेन्द्र विक, बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदी, तानसेन नगरपालिकाका उपमेयर प्रतीक्षा सिंजाली, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपाने, महिला उद्यमी उमा अर्याललगायतले महिलाहरुको हेरचाहको जिम्मेवारीमा बाँडफाँड हुन थालेको बताउनुभयो । उहाँहरुले विषयबस्तु उठान गर्दा नकारात्मक मात्र नभै सुधार भएको विषयहरु पनि उठान गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्लामा हेरचाह सम्बन्धी काममा महिला पुरुषको अवस्था बुझ्ने, सुधार गर्नुपर्ने विषयमा सुझाव संकलन गरी नीतिगत रुपमा पैरवी गर्ने उद्देश्यले समन्वयात्मक रुपमा कार्यशाला गरिएको सञ्चार मञ्च, पाल्पाका अध्यक्ष पदमप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय महिलाहरु पनि हेराचाहको काम संगै सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा क्रियाशील हुने अवस्था निर्माण हुँर्दै गएको समेत बताउनुभयो ।









