कसजू स्मृति दिवसमा पाँच व्यक्तित्व पुरस्कृत

पाल्पा । स्व.विनयकुमार कसजूको छैटौं स्मृति दिवसका अवसरमा पाल्पामा पाँच व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

साहित्यमा नीलकण्ठ न्यौपाने, ग्रामीण पत्रकारितामा गोविन्द भट्टराई र रेडियो साधनामा राजेशकुमार अर्याललाई नगद २५ हजारसहित पुरस्कृत गर्नुका साथै बालसाहित्यमा शान्तदास मानन्धर, महिला सशक्तीकरणमा सुशिला श्रेष्ठ र पत्रकारितामा झपेन्द्र गहिरेलाई सम्मान गरिएको हो ।

विनय कसजू स्मृति प्रतिष्ठानले तानसेनमा आयोजना गरेको संवाद कार्यक्रममा सम्मान तथा पुरस्कार वितरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले स्व.कसजूको जीवन पत्रकारिताको सत्यनिष्ठा, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारप्रतिको दृढ प्रतिवद्धताको उदाहरण भएको बताउनुभयो । उहाँले राष्ट्रिय सूचना आयोगको पहिलो प्रमुख आयुक्त भएर नागरिकको थाहा पाउनुपर्ने हकको पक्षमा थुप्रै फैसला र आदेश गरी युगयुगसम्म अमर हुने कार्य गरेको बताउनुभयो । आजको सूचनाको युगमा उहाँका आदर्श अझै सान्दर्भिक रहेको बताउँदै पाल्पामा कसजूको स्मृतिमा विभिन्न कृतिशेष राखिदिन नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पूर्व प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले आग्रह गर्नुभयो ।

संवाद कार्यक्रममा सोमनाथ अर्याल, बुद्धिप्रसाद शर्मा, कमलप्रसाद मलेगो, विजय सागर, गोविन्द भट्टराईले कसजूले राजनीति, पत्रकारिता, सञ्चार, साहित्य, पर्यटन र समाजसेवा मार्फत देशको चेतनास्तर उकास्न गरेको काम अमूल्य रहेको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले कसजू राष्ट्रिय स्तरको व्यक्तित्व भएको र सम्झनामा तानसेनमा केही काम गर्नुपर्नेमा जोडदिनुभयो । प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य कुँवरले कसजू बहुआयामिक व्यक्ति रहेको उल्लेख गर्नुभयो । वरिष्ठ पत्रकार हेमबहादुर विष्टले सत्य र गाउँले देउराली जस्ता पत्रिकाका सम्पादक कसजूलाई आफूहरूले काठमाडौं लगेको र त्यसले कसजूलाई न्याय भए नभएको पाल्पालीले समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गंगादेवी कसजूको अध्यक्षतामा स्मृति दिवस समारोह चलेको हो । कसजूको २०७६ मंसिर १० मा निमोनियाका कारण ७२ वर्षको उमेरमा निधन भएको थियोे ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय