योजनाको कार्यान्वयनमा रम्भाको तीव्रता

पाल्पा । रम्भा गाउँपालिका, पाल्पाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि छनोट गरेका योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्नका लागि तीव्रता दिएको जनाएको छ । जसका लागि समयसीमा निश्चित गरी कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमहरु आगामी २०८३ सालको जेठ दोस्रो सातासम्म सम्पन्न गर्नेगरी कामको तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले योजना अनुसार समयमै कार्य सम्पन्न गर्नका लागि सबै उपभोक्ता समिति, निर्माण व्यवसायी र अन्य सरोकारवालालाई आवश्यक ताकेता गरिएको बताउनुभयो । गाउँपालिकाको रम्भा गाउँपालिकाको शान, सुखी रम्भावासी, समृद्ध हाम्रो अभियानलाई सार्थक बनाउन संघीयता लागु भएको सुरुदेखि नै योजनाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा प्राथमिकता दिँर्दै आएको अध्यक्ष भण्डारीको भनाइ छ । उहाँका अनुसार कृषि तथा पशुपालनलाई आर्थिक विकासको मेरुदण्ड लिएर दूध उत्पादनमा वृद्धि, गाईभैसी प्रवद्र्धन, सहुलियत ऋण, आधुनिक कृषि औजार वितरण, फलफूल जोन विस्तार, शीत भण्डारण केन्द्र तथा भूमि बैंक स्थापना लगायतका कामहरु सञ्चालन गरिएको बताउनुभयो ।

गाउँपालिकाले पूर्वाधार विकासलाई मात्र नभै सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । उहाँले निःशुल्क प्रयोगशाला सेवा, पोषणमैत्री कार्यक्रम, मोतियाविन्दु शल्यक्रिया, खोप कार्यक्रम, जेष्ठ नागरिक स्वास्थ्य सेवा, सामुदायिक स्वास्थ्य स्वयंसेविकाका प्रोत्साहन, बीमा सेवा, एकीकृत घुम्ती शिविर, सुत्केरी यातायात कार्यक्रम तथा गर्भवती महिलालाई पोषणयुक्त कोशेली वितरण जस्ता कार्यक्रम गाउँपालिकाले कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रमा पढ्दै जाउँ, कमाउँदै जाउँ नीति तथा प्रविधीमैत्री शिक्षाको अवधारणा अघि बढाइएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । अभिभावकविहीन तथा अतिविपन्न बालबालिकाका लागि अभिभाकत्व ग्रहण गरी माध्यमिक तहसम्म अध्यापनको व्यवस्था गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले एक वडा–एक खेल मैदान, पूर्वाधार विकास, पिउनेपानी तथा सरसफाइ, सु–शासन तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा पनि काम नतिजामुखी काम गरेको गाउँपालिकाले जनाएको जनाएको छ ।

चालु आर्थिक वर्षमा करिब २० ठूला योजनामध्ये १५ वटा योजना टेण्डर प्रक्रियामा गएको र मंसिर मसान्तसम्म सबै योजनाको टेण्डर प्रक्रिया पूरा गरी कार्यान्वयनमा जाने योजना अनुसार काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । उहाँले यस वर्ष कर्मडहल, १५ शैय्याको अस्पताल सञ्चालन, प्रशासकीय भवन निर्माण तथा पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु प्राथमिकतामा राखेर काम भैरहेको बताउनुभयो । ’स्मार्ट आमा’ कार्यक्रम, पोषणमैत्री कार्यक्रम, राष्ट्रपति रनिङ सिल्ड, एक घर एक करेसाबारी, एकीकृत घुम्ती शिविर तथा प्रविधीमैत्री सेवालगायतका कार्यक्रमबाट नागरिकलाई फाइदा पुगेको प्रमुख प्रशासकीय अधिकृत पुनको भनाइ छ ।

जिल्लाको सबैभन्दा सानो गाउँपालिका भएको र आन्तरिक आम्दानी पनि कम भएकोले जनताको माग र आवश्यकतालाई भनेकै समयमा सम्बोधन गर्न सक्ने अवस्था नभएपनि क्रमिक रुपमा प्राथमिकता तोकेर योजनाहरु कार्यान्वयनमा ल्याउने गरिएको सूचना अधिकारी सुरज पाठकले बताउनुभयो । उहाँले आन्तरिक आम्दानी वृद्धि गर्न करको दायरा विस्तार गर्ने रणनीति अवलम्बन गरिएको बताउनुभयो । करुवा पत्रिकामा समाचार प्रकाशित छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय