बृहत यौनिकता शिक्षाको निरन्तरताको प्रतिवद्धता

पाल्पा । तानसेन नगरपालिका र बगनासकाली गाउँपालिका किशोरकिशोरीहरुका लागि बृहत यौनिकता शिक्षा कार्यक्रमको निरन्तरताका लागि प्रतिवद्ध भएका छन् । चालु आर्थिक वर्षमा पनि बृहत यौनिकता शिक्षा कार्यक्रम गर्न दुबै पालिकाले प्रतिवद्धता जनाएका हुन ।

तानसेन नगरपालिकाको समन्वय, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रममा तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले किशोरकिशोरीलाई धेरै फाइदा पुग्ने बृहत यौनिकता शिक्षा कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । बृहत् यौनिकता शिक्षासम्बन्धी नेपालमा रहेका कानुनी र कार्यक्रमिक रूपमा भएका व्यवस्थाको कार्यान्वयनमा प्रतिवद्धता जनाउनुभयो । कार्यक्रमका लागि विद्यालय तथा अभिभावकसंग समन्वय र सहकार्य गरेर पश्चिमा सभ्यता र संस्कृतिले ल्याएको विकृतीका विषयमा सचेतना फैलानुपर्ने नगरप्रमुख श्रेष्ठको भनाइ थियो ।

तानसेन नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बृहत् यौनिकता शिक्षालाई सबै किशोरकिशोरी तथा युवाको आधारभूत अधिकारका रूपमा लिने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाको प्रत्याभूति र युवाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बालविवाह, अनिच्छित गर्भधारण रोक्ने, सबै प्रकारका यौन तथा लैंगिक हिंसा र हानिकारक अभ्यास, एचआइभी÷एड्स लगायत यौनजन्य संक्रमण हुनबाट जोगाउनका लागि कार्यक्रम महत्वपूर्ण रहेको बगनासकाली बालमैत्री तथा सामाजिक शाखा प्रमुख नारायण तिमिल्सेनाले बताउनुभयो । उहाँले सबै किशोरकिशोरी तथा युवाको संरक्षण गर्दै किशोरावस्थाबाट वयस्क अवस्थामा सुरक्षित र परिपक्व रूपमा रूपान्तरण हुनका लागि आवश्यक सहजीकरण गर्ने पालिकाहरु तयार रहेको बताउनुयभो ।

बृहत् यौनिकता शिक्षा सम्बन्धी सिकाइ सामग्री विकास गरी त्यसको प्रभावकारी प्रयोगमा किशोरकिशोरी तथा युवा र समुदाय तथा अभिभावकलाई संलग्न गराउने नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताउनुभयो । उहाँले किशोरकिशोरी तथा युवाको सिकाइ अनुभव र असल अभ्यास एकआपसमा आदानप्रदान गर्न प्रोत्साहित गर्ने प्रतिवद्धतासमेत जनाउनुभयो । किशोर किशोरीमा यौनिकता शिक्षाका लागि स्थानीय सरकारले पाठ्यसामाग्री तयार गर्ने देखि विद्यालय तहसम्म पुग्नु पर्ने विषयमा शाखा प्रबन्धक न्यौपानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगर सरकारका स्वास्थ्य प्राविधिक चन्द्र तारा बस्यालले किशोर किशोरीमा बृहत यौन शिक्षा नभएका कारण नगर भित्र गत आर्थिक वर्षमा ८६ जना किशोरी २० मुनीका गर्भवती भएको जानकारी गराउनुभयो । उहाँले यौन र यौनिकता शिक्षा आवश्यक रहेको बताउदै प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष जिम्मेबार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्यासन पाल्पाका अध्यक्ष डाँसुराम पन्तले प्रविधीको बढ्दो प्रयोग र त्यसले निम्त्याउने गलत असरका कारण यस विषयमा संवेदनशील बन्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा दमकडा माविका प्रधानाध्यापक मोहन सापकोटा, सरस्वती मावि सुन्दरगाउँका प्रधानाध्यापक शंकर पौडेल, जनता माविका प्रधानाध्यापक हरिप्रसाद घिमिरे, त्रिभुवन मावि अर्गलीका प्रधानाध्यापक नारायण प्रसाद नेपाल लगायतले विद्यालय तहमा किशोर किशोरीमा यौनिकता शिक्षाका लागि सहयोग गर्न तयार रहेको प्रतिवद्धतासमेत जनाए । करूवा पत्रिकामा समाचार छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय