तिनाउ पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका

पाल्पा । तिनाउ गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाका भित्रका ६ वटै वडामा सुत्केरी भएका महिलाको तथ्यांक संकलन गरी मापदण्डको सूचकको आधारमा प्रक्रिया पूरा गरी पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

गाउँपालिकामा अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा २ सय ७ जना सुत्केरी भएका थिए । जसमा प्रोटोकल अनुसार गर्भजाँच गराउने महिला ९६ प्रतिशत थिए भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या शतप्रतिशत रहेको थियो । दक्ष प्रसूतिकर्मीद्वारा सुत्केरी गराउने बर्थिङ सेन्टर र जनचेतनाका कारण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको महिलाको संख्या शतप्रतिशत रहेको हो ।

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु लगायतले संयुक्त रुपमा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा गर्नुभएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका बनेकोमा तिनाउलाई बधाई ज्ञापन गर्नुभयो । यसका साथै उहाँले यसको निरन्तरताका लागि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्न आग्रह समेत गर्नुभयो ।

गाउँपालिकाकाको १ नं. वडा कचललाई भदौ ३१ गते, २ नं. वडा दोभान र ३ नं. वडा झुम्सालाई असोज ८, ४ नं. वडा कोलडाँडालाई कात्तिक ३०, ५ नं. वडालाई साउन २६ र ६ नं. वडा मस्यामलाई भदौ २० गते पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरी स्थानीय तहलाई घोषणाको लागि स्वास्थ्य कार्यालयमा सिफारिस गरेर पठाइएको स्वास्थ्य शाखा संयोजक कृष्ण कार्कीले जानकारी दिनुभयो

जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको प्रतिनिधिले स्थानीय तहको स्थलगत अनुगमन गरेपछि तोकेको मापदण्ड पूरा गरेको प्रमाणीकरण भएपछि स्थानीय तह घोषणा गर्ने व्यवस्था रहेको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रासद पोखरेलले बताउनुभयो । उहाँले स्थानीय तहमा रहेको समितिले सुत्केरी संख्याको कम्तीमा १० प्रतिशत घरधुरीको सुलभ सर्वेक्षण गरी मापदण्ड पूरा भएको अवस्थामा सम्बन्धित स्थानीयत तहलाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका भएको प्रमाणपत्र प्रदान गरिने बताउनुभयो ।

गाउँपालिकाले नागरिकको स्वास्थ्य क्षेत्रमा पहुँच वृद्धिका लागि प्राथमिकता दिएर काम गर्दै आएको अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । उहाँले प्रोटोकल अनुसारको गर्भजाँचलाई प्रोत्साहन तथा पोषण सुधारमा सघाउनका लागि नियमानुसार गर्भजाँच गर्दा अण्डा उपलब्ध गराउने गरेको बताउनुभयो । जुनसुकै स्वास्थ्य संस्थामा प्रसूति गराउन जाँदा लाग्ने सम्पूर्ण यातायात खर्च शोधभर्ना गाउँपालिकाले दिने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । तिनाउ गाउँपालिकामा भौगोलिक विकटता, छरिएको बस्ती, सचेतनाको कमि, आर्थिक अभाव जस्ता कारणले गर्दा स्वास्थ्यमा ध्यान नदिँदा गर्भवतीहरुलाई नियमानुसारको गर्भ जाँच र संस्थागत सुत्केरीको लागि निरन्तर फलोअप गर्नुपर्ने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । करूवा पत्रिकामा समाचार छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय