
पाल्पा । मंसिर ९ गते विवाह पञ्चमीको अवसरमा रामपुर ३ सीताकुण्डमा रामसीता विवाह उत्सव मनाइने भएको छ । जसका लागि रामसीता विवाह उत्सवको तयारी तीव्र रुपमा भैरहेको रामपुर नगरपालिकाले जनाएको छ ।
धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न उत्सव गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । उत्सवमा वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भूमि वडा नं. ५ कालीगण्डकी किनारको रामघाटमा बाट जन्ती निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ को सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । उहाँल नगर भित्र रहेका भगवान राम र सीता संग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्व उजार गर्न यस वर्ष सीताकुण्डमा विवाह पञ्चमी मनाउन लागिएको बताउनुभयो । धार्मिक स्थलको संरक्षण संगै महिमाको प्रचारप्रसार गरी धार्मिक पर्यटन संग जोड्ने मुख्य उद्देश्यले विवाह उत्सव मनाउन लागिएको नगर प्रमुख थापाको भनाइ छ ।
धार्मिक व्यक्तित्व सन्दिप रानाले सीताकुण्डको बारेमा जानकारी गराउदै स्कन्दपुराण, आनन्द रामायण र कालीदासको मेघदुतमा समेत सीताकुण्डको बारेमा उल्लेख भएको बताउनुभयो । उहाँले सीताकुण्डको महिमा छुट्टै रहेको बताउँदै भाकल गरेमा मनोकामना पुरा हुन्छ भन्ने स्थानीयमा विश्वास रहेको बताउनुभयो ।
विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मंसिर ९ गते मंगलबार स्थानीय विदा समेत दिएको छ । करुवा पत्रिकाबाट









