
पाल्पा । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, पाल्पाले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । विनियोजीत बजेट कटौती, चाडपर्व र समयमै कार्यविधि नबन्दा ढिलो गरेर बजेट तथा कार्यक्रम सार्वजनिक गर्नु परेको कार्यालयहरुले जनाएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र पाल्पाको चालु आर्थिक वर्षका लागि करिब तीन करोड ६४ लाख ४५ हजार रुपैयाँ विनियोजन भएको कार्यालय प्रमुख अमिता पाण्डेले बताउनुभयो । उहाँले वार्षिक रुपमा कृषि क्षेत्रमा बजेट कम हुने गरेकोले कृषकको मागलाई सम्बोधन गर्न कठिन हुने बताउनुभयो । उपलब्ध बजेटमा साना साना योजनाहरु रहनुका साथै यस वर्ष मुख्य गरी प्राङगारिक कृषि प्रवद्र्धन कार्यक्रम, व्यवसायिक कृषि फार्ममा विज्ञसहितको प्राविधिक सेवा र रैथाने वाली संरक्षणका कार्यक्रम रहेको प्रमुख पाण्डेको भनाइ थियो ।
यस्तैगरी सार्वजनिकीकरण कार्यक्रममा भेटेरिनरी अस्पतालका प्रमुख दुर्गाप्रसाद खनालले यस आर्थिक वर्षका लागि कुल तीन करोड ५३ लाख ८३ हजारको बजेट तथा कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले विनियोजित बजेटमा समेत २० प्रतिशत कटौती गर्दा जिल्लामा काम गर्न कठिन हुँने भएको बताउनुभयो । कृषकका माग र आवश्यकता बढी रहेको बताउदै प्रमुख खनालले बजेट अभाव पशुपंक्षी तथा मत्स्य पालन क्षेत्रको विकासमा अपेक्षित उपलब्धि हासिल गर्न कठिनाई हुने बताउनुभयो ।
सार्वजनिकीकरण कार्यक्रममा लुम्विनी प्रदेश सभामा सभामुख तुलाराम घर्तीमगरले तीन तहकै सरकारको प्राथमिकतामा कृषि क्षेत्र पर्न नसक्नु दुखद रहेको बताउनुभयो । उहाँले कृषि उत्पादन बढाउन, बजारीकरण गर्न र कृषक लाई कृषि पेसामा निरन्तर टिकाउन आवश्यक योजना र ऐन नियम बनाएर योजनाबद्ध रुपमा आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अझै पनि स्वाइल किसान भन्दा फाइल किसानबाट निर्देशित बजेट आउने गरेकोले यस विषयमा गम्भीर भएर कृषकको माग र आवश्यकतालाई ध्यान दिएर बजेट बनाउनुपर्ने सभामुख घर्तीमगरको भनाइ थियो ।
जिल्ला समन्वय समिति उपप्रमुख काशीका गैरे, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पाल्पाको विकास र रोजगारी कृषि कर्म बाटै सम्भव भएकोले युवालाई कृषिमा सिकाउने, टिकाउने, र बिकाउने गरी कार्यक्रमहरू बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा चिनारी दुध उत्पादक सहकारी संस्था लिमिटेडका टिकाराम रेश्मी, ओमबहादुर मश्रांगीलगायतले योजना मागका आधारमा हुनुपर्ने बताउनुभयो । उहाँहरुले बजेट कटौत प्रति गुनासो गर्दै आवश्यकताको उचित मूल्याँकन गरेर मात्र बजेट तथा कार्यक्रम आउनुपर्नेमा जोड दिनुभयो । साथै बजारमा रहेका एग्रोभेटहरुको मनोपलीको नियमन गर्नुपर्ने बताउनुभयो ।
दुबै कार्यलयले संयुक्त रुपमा कार्यक्रम आयोजना गरी कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन । कार्यक्रममा कृषि र पशुपालन क्षेत्रमा क्रमिक रुपमा लगानी बढाउनुपर्ने पशु विकास अधिकृत युवराज ज्ञवालीले बताउनुभयो । सम्भावना अनुसार जिल्लालाई कृषि तथा पशुपालनमैत्री जिल्ला बनाउनुपर्ने उहाँले बताउनुभयो । करूवा पत्रिकाबाट









