
पाल्पा । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक दमकल (अग्निनियन्त्रक यन्त्र) उपलब्ध गराइएको छ ।
जिल्लाको विपद् व्यवस्थापन क्षमतालाई सुदृढ पार्ने उद्देश्यले अत्याधुनिक दमकल उपलब्ध गराइएको हो । पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा मात्र दमकल हुँदा आगलागी र अन्य विपद्का घटनामा समस्या हुँर्दै आएको थियो । जिल्लाभरिको आगलागी र अन्य विपद्का घटनामा सेवा दिनका लागि दुईवटा मात्र दमबल हुँदा कठिनाइ हुँर्दै आएको थियो । अब भने जिल्लामा चार वटा दमकल भएपछि समस्या पर्दा तत्काल प्रयोग गर्न सकिने र विपद्बाट ठूलो क्षति हुनबाट बचाउन सकिने स्थानीय तहका प्रमुखहरुको भनाइ छ ।
जापान सरकारको सहयोगमा प्राप्त दमकलहरू बिहीबार एक कार्यक्रमका बिच काठमाडौँमा स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । लामो समयदेखि दमकलविहीन रहेका कारण आगलागीका घटनाहरूमा नगरपालिकामा निर्भर रहनुपर्ने बाध्यता रहेकोमा दमकल प्राप्त भएपछि पश्चिम क्षेत्रका अन्य गाउँपालिकालाई पनि सहयोग पुग्ने रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुक्मागत भट्राईले बताउनुभयो । उहाँले जापान सरकार र सहयोगी निकायप्रति आभार व्यक्त गर्दै दमकल प्राप्त भएसँगै अब गाउँपालिकावासीको जीउधनको सुरक्षा सुनिश्चित भएको बताउनुभयो । दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता अध्यक्ष भट्राईले व्यक्त गर्नुभयो ।
त्यसैगरी, तानसेन नगरपालिकाका सूचना अधिकारी भरत्तप्रसाद आचार्यले जिल्लामा तानसेन र रामपुरमा मात्र दमकल हुँदा एकै पटक धेरै स्थानमा आवश्यक पर्दा समस्या हुने गरेकोमा अब भने सहज हुने बताउनुभयो । उहाँले यसको सञ्चालनका लागि आवश्यक दक्ष जनशत्ति व्यवस्थापन गरी आगलागीका साथै अन्य विपद्का घटनालाई तत्काल नियन्त्रण गर्न मद्दत पुग्ने गरी सञ्चालन गर्ने बताउनुभयो ।









