
पाल्पा । रम्भा गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी सचेतनामूलक बजार अनुगमन गरेको छ । जस अनुसार शुक्रबार रम्भा–३, पिपलडाँडा जिरो र अगाहाखोलामा रहेका होटल, किराना पसल, मासु पसललगायतका पसलहरुमा अनुगमन गरिएको हो ।
गाउँपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, पिपलडाँडा प्रहरी चौकी तथा अन्य सरोकारवाला निकायको संयुक्त सहभागितामा बजार अनुगमन गरिएको सूचना अधिकारी सुरज पाठकले जानकारी दिनुभयो । उहाँले पर्वका समयमा व्यपारीहरुले गर्नसक्ने ठगी, अखाद्यबस्तुको विक्री जस्ता विषयलाई ध्यानमा राखेर अनुगमन गरिएको बताउनुभयो ।
१८ वटा विभिन्न होटल तथा पसलहरुमा गरिएको अनुगमनकमा ५६ हजार ४५० रुपैयाँ बराबरको अखाद्य सामाग्री जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले जानकारी दिनुभयो । साथै नियम विपरित अखाद्यबस्तुको विक्री गर्ने पसलहरुलाई सचेत बनाउनुका साथै सबै व्यापारीहरुलाई नियममा रहेर कारोबार गर्न सुझाव दिइएको उहाँले बताउनुभयो ।









