स्वास्थ्य सेवा प्रवाहमा पूर्वखोला पहिलो

पाल्पा । जिल्लाका दश स्थानीय तहमध्ये स्वास्थ्य सेवा प्रवाहमा पूर्वखोला गाउँपालिका पहिलो बनेको छ ।

आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन आधरामा गरिएको मुल्याँकनमा पूर्वखोला गाउँपालिका सबैभन्दा बढी अंक ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसुधद भटराईले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कार्यसम्पादन र सेवा प्रवाहका २५ वटा सूचकहरुको मुल्याकँनको आधारमा पूर्वखोला गाउँपालिकाले ६६ दशमलव ०५ प्रतिशत प्राप्त गरी पहिलो बनेको बताउनुभयो ।

यसैगरी ६५ दशमलव ३५ प्रतिशत प्राप्त गरी निस्दी गाउँपालिका दोस्रो भएको छ । वार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरिएको नतिजामा रैनादेवी छहरा गाउँपालिका तेस्रो भएको छ । रैनादेवी छहराले ६४ दशमलव ९८ प्रतिशत अंक प्राप्त गरी तेस्रो भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नतिजामा पहिलो, दोस्रो र तेस्रो हुने गाउँपालिकालाई सम्मान समेत गरिएको छ । गत वर्षको समीक्षा तथा आर्थिक वर्ष २०८२/८३ को कार्ययोजना गोष्ठीमा माथिल्लो अंक प्राप्त गर्ने उत्कृष्ट तीन गाउँपालिकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

नतिजा सार्वजनिक गर्दै पाल्पाका सबै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा प्रभावकारी रहेको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याँक अधिकृत मानबहादुर ओलीले बताउनुभयो । उहाँले मुल्याँकनमा पहिलो दोस्रो बनाउनुपर्ने भए पनि कार्यसम्पादनमा कुनै पनि स्थानीय तह कमजोर नभएको बताउनुभयो ।

पूर्वखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर