
पाल्पा । जिल्लामा दर्ता नगरी सामानहरु विक्रीका लागि सडक र घरघरमा हिड्ने पोके व्यापारीलाई पाल्पा व्यापार संघले नियन्त्रणमा लिएर तानसेन नगरपालिकालाई जिम्मा लगाउन थालेको छ । संघले स्थायी रूपमा व्यवसाय दर्ता नगरी सडक र घरघरमा पुगेर व्यापार गर्दै हिडेका व्यापारीहरूलाई नियन्त्रणमा लिने अभियानलाई तीव्र रुपमा अगाडि बढाइएको संघका अध्यक्ष विष्णुबहादुर कार्कीले बताउनुभयो ।
यसैक्रममा तानसेनमा ४० केजी लेवल बिनाको मिसावट भएको घिउ मंगलबार पोके व्यापारीबाट जफल गरी नगरपालिकालाई बुझाइएको छ । यस अघिपनि सोही मात्रामा घिउ र अखाद्य मह जफल गरिएको थियो । जफल भएको घिउको गुणस्तर परीक्षणका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयलाई जिम्मा लगाइएको छ । यसका साथै विभिन्न ठाउँमा व्यापारका लागि हिड्ेका फलफूल, तन्ना, पोके व्यापारीहरुलाई समेत सचेत गराउदै सामानहरु दर्ता विना विक्री वितरण नगर्ने भनिएको संघका अध्यक्ष कार्कीले बताउनुभयो ।
चाडपर्वका समयमा बजारमा किनमेल गर्नेको भीड बढ्ने भएकाले पोके व्यापारीको संख्यामा समेत वृद्धि हुने गरेको छ । अस्थायी रूपमा व्यापारका लागि सामान लिएर हिड्ने पोके व्यापारीले कर नतिर्ने र कानुनी प्रक्रिया समेत पूरा नगर्ने भएकाले जिल्लामा समय समयमा पोके व्यापारी कारबाहीमा पर्ने गरेका छन् । व्यापारीहरुको हकहितका लागि स्थापना भएको संघले पोके व्यापारीहरुका कारण स्थायी रूपमा दर्ता प्रकृया पूरा गरी कारोबार गर्ने आफ्ना व्यवसायी मर्का पर्नुका साथै उपभोक्ताहरु गुणस्तरहीन सामान खरिद गरी ठगिनुपर्ने अवस्थाको अन्त्य गर्न संघले अभियानका रुपमा पोके व्यापारीलाई नियन्त्रणमा दिएर काराबाहीका लागि जिम्मा लगाउने गरेको अध्यक्ष कार्कीको भनाइ छ ।








