
पाल्पा । रम्भा गाउँपालिकाको प्रशासकीय भवन बन्ने भएको छ । गाउँपालिका स्थापना भएको आठ वर्षपछि भवन बन्ने भएको हो । भवनका निर्माणका लागि आवश्यक प्रकृया पूरा गरेर निर्माण व्यवसायीसंग सम्झौता भएको छ । संघीय संरचना अनुसार गाउँपालिका स्थापना भएको साढे ६ वर्षमो गाउँपालिकाको केन्द्र टुंगो लगाएको रम्भाले करिब डेढ वर्षमा जग्गा प्राप्तीसहित आवश्यक कार्य सकेर भवन निर्माणका लागि निर्माण व्यवसायीसंग सम्झौता गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार गाउँपालिका केन्द्रका लागि प्रस्तावित स्थानहरुमा गाउँसभाको १४ औं अधिवेशनमा आवश्यक बहुमत जुटन नसकेपछि संघीय सरकारबाट तोकि आएको गाउँपालिकाको केन्द्र ३ नं. वडा कार्यालय पिपलडाँडा खोकखोलाको ५ सय मिटर वरपर केन्द्र राख्न सकिने व्यवस्था अनुसार काम गरिएको हो । केन्द्र तोकेपछि भवनका लागि जग्गाको खोजी गर्दा स्थानीय कृर्तिनिधि शर्मा, रेनुका न्यौपाने, केशौराज न्यौपाने सोभाखर न्यौपाने कुल ७ रोपनी ७ आना २ पैशा शून्य दाम निशुल्क रुपमा जग्गा उपलब्ध गराउने भएपछि जग्गा प्राप्तीको काम अगाडि बढाइएको अध्यक्ष भण्डारीको भनाइ छ ।
भवनका निर्माणका लागि आवश्यक प्रकृया पूरा गरेर निर्माण व्यवसायीसंग सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणको जिम्मा गेहेन्द्र लक्ष्मी निर्माण सेवा रिलाएन्स इन्जिनियरीङ्ग एण्ड बिल्ड्रस प्रालिले प्राप्त गरेको छ । २०८२ भदौ १७ गते भवन निर्माण सम्झौता गरिएको छ । छ करोड २ लाख ६७ हजार ५ सय ९० रुपैयाँमा भवन निर्माण हुनेछ । आगामी २०८४ भदौ निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । भवन निर्माण कार्य ६० प्रतिशत स्थानीय पूर्वाधार विभाग र ४० प्रतिशत गाउँपालिकाको लागत साझेदारीमा हुने प्रमुख प्रशासकीय अधिकृत पुनको भनाइ छ ।
प्रशासकीय भवन नहुँदा साविक पिपलडाँडा गाउँ विकास समितिको वडा नं. ३ वडा भवन, रकमादेवी आधारभूत विद्यालयको केही कोठा र रिमिघा श्वाबलम्वन बचत तथा ऋण सहकारी सस्थाको भवनका कोठाहरुबाट सेवा प्रवाह भैरहेको छ । जसले गर्दा विभिन्न समस्याहरु रहेका छन् । साँघुरा कोठाबाट फरक फरक विषयगत शाखाहरु एउटै कोठामा बसेर काम गर्नुपर्ने अवस्थाले कार्यसम्पादनमा कठिनाइ हुने गरेको इन्जिनियर दीपक सारुले बताउनुभयो । स्थान अभावका कारण सेवा प्रदायक र सेवाग्राहीहरु दुबै पक्षलाई सेवा लिन र दिन समस्या हुने गरेको उहाँले बताउनुभयो । नयाँ बन्ने भवन अपांगमैत्रीसहित साढे चार तलाको रहने छ । जसमा बैठक र सभा हल र ३० वटा कोठा बन्ने इन्जिनियर सारुको भनाइ छ ।
भवन निर्माण कार्य सकिएपछि विषयगत शाखाहरुले भिन्न भिन्न कक्षबाट कार्यसम्पादन गर्ने अवस्था तयार हुने सूचना प्रविधि अधिकृत सुरज पाठकले बताउनुभयो । जसले गर्दा सेवाग्राहीलाई सेवा लिन सहज हुने उहाँले बताउनुभयो । गाउँपालिकाबाट एकीकृत रुपमा सेवा प्रवाह हुँदा सेवाग्राहीलाई सहज हुनका साथै समयको समेत बचत हुने सूचना प्रविधि अधिकृत पाठकको भनाइ छ । त्यसैले प्रशासकीय भवन निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको सूचना अधिकारी समेत रहनुभएका पाठकले बताउनुभयो । (करूवा अर्धसाप्ताहिक पत्रिकाबाट)









