
पाल्पा । चाडपर्वका बेला यात्रुले खेप्नुपर्ने सास्तीको सहजीकरण गर्नका लागि तानसेन बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । यसका साथै जिल्लाको रामपुर, दोभान र बर्तुङमा समेत सहायता कक्ष सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पासंगको समन्वयमा सामुदायिक सेवा केन्द्र तानसेनले तानसेन बसर्पाकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । प्रहरी, सेवा केन्द्र र यातायात व्यवसायीहरुले संयुक्त रुपमा सेवा दिनेगरी कक्षको सुरु गरिएको हो ।
पर्वका बेला यात्रुलाई सहज र सुरक्षित रुपमा गन्तव्यमा पु¥याउने लक्ष्यका साथ कक्षको शुभारम्भ गरिएको संयोजक भविन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले विगतमा प्रहरीको आयोजनामा चलाइने कक्ष यस पटक सेवा केन्द्रबाट चलाइएको बताउदै सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
यात्रु सहायता कक्षको शुभारम्भ गर्दै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले यात्रु सहायता कक्ष चाडपर्वका समयमा यात्रा गर्दा अलमल र मर्कामा परेका यात्रुहरुलाई सहजीकरण गर्ने औपचारिक संयन्त्र भएको बताउनुभयो । उहाँले कक्षले समस्यामा परेका यात्रुहरुलाई भरपर्दो र सुरक्षित हिसावले गन्तव्यमा पठाउन मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सहायता कक्षमा बस्ने जनशक्ति जिल्लाको गाडीभाडा दर, सडकको अवस्थालगायतका विषयमा सूचना भएको व्यवस्थापन गर्नुपर्ने बताउर्दै सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले सहायता कक्षमा यातायात व्यवसायीको जनशक्ति नियमित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंञ्जीयार थारुले चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने र सवारी दुर्घटना न्यूनिकरणमा यात्रु सहायता कक्षले मद्दत गर्ने बताउनुभयो । उहाँले क्षमता भन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, तीव्र गतिमा सवारी साधन नहाक्न, यात्रुमैत्री व्यवहार गर्न समेत व्यवसायीहरुलाई आग्रह गर्नुभयो । यात्रु सहायता कक्ष चाडपर्वका समयमा मात्र नभै नियमित सञ्चालन गर्नुपर्नेमा समेत प्रहरी नायव उपरीक्षक थारुले जोड दिनुभयो
कार्यक्रममा श्रीनगर यातायात सेवा कम्पनी प्रालिका कोषाध्यक्ष किरण चित्रकारले यात्रु सहायता कक्ष नियमित रुपमा चल्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा सवारी दुर्घटना निजी सवारीसाधनका कारणले बढ्ेको बताउर्दै नियमनमा ध्यान दिन प्रहरी प्रशासनलाई अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सवारीसाधनमा मापदण्ड अनुसार तोकिएको सिटको प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यात्राका क्रममा यात्रुले कुनै बहानामा सास्ती नपाउनेगरी सेवा प्रवाह भएको सेवा केन्द्रले सुनिश्चित गर्नुपर्ने र त्यसमा यातायात व्यवासायी र प्रहरीले विशेष ध्यान दिन आग्रह समेत गर्नुभयो ।
पश्चिम नेपाल बस व्यवसायी समिति पाल्पा इन्चार्ज डोलराज भटराई, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका कार्यक्रम अधिकृत विनोद भारती, सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश उप्रेतीलगायतले पर्वका बेला यात्रु ठगिने र विभिन्न सास्ती खेप्नुपर्ने अवस्थालाई यात्रु सहायता कक्षले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले अधिल्ला वर्षमा सुरु गरिएको पर्व लक्षित सहायता केन्द्रको प्रभावकारीता बारे समीक्षा गरेर अगाडि बढ्नु पर्ने समेत बताउनुभयो । यात्रालाई सहज र सुरक्षित बनाउन सवै पक्षको सहकार्य आवश्यक रहेको र त्यसमा सेवा केन्द्रले आइपर्ने समस्या समाधानका लागि सहायता कक्षबाट सेवा उपलब्ध गराइने सामुदायिक सेवा केन्द्रका सचिव राजेशकुमार भटराई बताउनुभयो ।









