
पाल्पा । नेपाली काँग्रेस पाल्पाले ११ औं संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसका अवसरामा काँग्रेस पाल्पाले अन्तरक्रियासँगै मौन प्रर्दशन गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले मुलुकमा प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपाली जनताको लामो संर्घष र बलिदानबाट प्राप्त नेपालको संविधान २०७२ उत्कृष्ट रहेको बताउनुभयो । संविधान कार्यान्वयनमा तीनै तहका सरकार प्रयत्नरत भइरहेकै अवस्थामा भएको जेनजीको विरोध प्रदर्शन र त्यसबाट उत्पन्न परिस्थितिले देशमा गम्भीर चुनौती थपेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण, सुशासनलगायतका जेनजीका मागलाई सकारात्मक रुपमा ग्रहण गर्दै अगाडि बढ्नुपर्ने नेता पन्तको भनाइ थियो ।
नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सभा सदस्य विरबहादुर रानाले संविधानको कार्यान्वयनमा देखिएका कमिकजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने समय आएको बताउनुभयो । उहाँले शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक रहेको बताउनभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले जनताका निर्वाचित प्रतिनिधिहरूद्वारा जारी नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशलाई स्थायित्व र दिगोपनाको बाटोमा अघि बढाएको बताउनुभयो । उहाँले सुशासन, शान्ति, समानता र समृद्ध नेपाल निर्माण गर्ने हाम्रो साझा अभियान भएको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रमपछि काँग्रेस नेता तथा कार्यकर्ताहरुले तानसेनको आन्दोलन चोकमा मौन प्रदर्शन समेत गरेका छन् । काँग्रस नेता कार्यकर्ताहरुले संविधान कार्यान्वयनले मात्रै समृद्ध नेपाल सम्भव छ, लोकतन्त्रका लागि लड्ने काँग्रेस, संविधानको रक्षक काँग्रेस, गणतन्त्र संघीयता र समावेशीताको रचना काँग्रेसको बलिदानको उपज, संविधान निर्माणदेखि कार्यान्वयनसम्म नेपाली काँग्रेसको प्रतिवद्धतालगायत शीर्षक लेखिएका प्लेकार्ड लिएर मौन प्रदर्शन गरेको सचिव सन्तोष थापामगरले जानकारी दिनुभयो ।









