संविधान दिवसमा एमाले पाल्पाको अन्तरक्रिया

पाल्पा । संविधान दिवसका अवसरमा नेकपा एमाले पाल्पाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

११ औं संविधान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय निर्वाचन आयोग सदस्य नारायणी शर्मा घिमिरेले नेपालको संविधान र वर्तमान अवस्था बारे कार्यपत्र प्रस्तुत गर्दै नेपालको संविधान २०७२ प्रगतिशील र अग्रगामी रहेको बताउनुभयो । उहाँले सबैको अधिकारलाई सुनिश्चित गरेको संविधान भएपनि समय अनुसार संशोधन गर्न सकिने बताउनुभयो । पछिल्लो समय देशमा उत्पन्न राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर पुरानो पुस्ताले नयाँ पुस्ताको मनोभावना बुझेर अगाडि बढ्नुपर्ने संविधान सभा सदस्य शर्मा घिमिरेको भनाइ थियो । उहाँले पुरानो पुस्ताको अनुभव र योगदानलाई आत्मसाथ गरेर नयाँ पुस्ताको नेतृत्वमा भ्रष्टाचार र अनियमितता जस्ता कार्यलाई निरुत्साहित गर्दै मुलुकलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरेले सबैभन्दा धेरैको सहभागितामा बनेको संविधान उत्कृष्ट रहेको बताउनुभयो । संविधान खारेज गरेर होइन संशोधन गरेर जेन्जीको मागलाई सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो । अर्का सल्लाहकार परिषद् सदस्य पर्शुराम भट्टराईले परिवर्तन हुनु आवश्यक रहेको बताउदै युवा पुस्ताका भावनालाई बुझेर राजनीति गर्नुपर्नेमा जोड दिनुभयो ।

निवर्तमान प्रतिनिधि सभा सदस्य नारायणप्रसाद आचार्यले माग राख्दा अनुशासित ढंगले राख्नुपर्ने बताउदै जिम्मेवार नेताले समयमै सम्बोधन गर्नुपर्ने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रको पक्षमा लिंदै आएको अडानका कारण जेन्जीको आन्दोलनका नाममा घुसपैठ भएको नेता आचार्यको भनाइ थियो । शान्तिपूर्ण आन्दोलन गर्न पाउने संविधान मै व्यवस्था भएपनि व्यक्ति कुटपिट गर्नु, निजी र सार्वजनिक सम्पत्तीमा आगजनी हुनु दुःखद् भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी युवा अमृत बस्यालले युवालाई पार्टीमा ठाउँमा दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आधुनिक मुद्दामा पार्टीले काम गर्नुपर्ने बताउदै नयाँ पुस्तको नेतृत्व स्वीकार्नुपर्ने बताउनुभयो । अर्का युवा उत्सवी ढकालले सबै उमेर समूहकालाई राजनीतिमा जोड्नुपर्ने बताउनुभयो । युवा शीर्षा पौडेलले संविधानमा उल्लेख भएपनि त्यसको कार्यान्वयन नहुँदा समस्या रहेको गुनासो गर्नुभयो । उहाँले शिक्षा भएपनि रोजगारका लागि युवाहरु विदेशीन बाध्य रहेको बताउनुभयो ।

यसका साथै कार्यक्रममा सहभागी युवाहरुले दलको विकल्प नभएको बताउदै त्यसमा नेकपा एमालेको पनि विकल्प नभएको बताएका र्थि । उनीहरुले किशोर र युवाको मनोभावनालाई बुझेर दल र नेताले राजनीति गर्नुपर्नेमा जोड दिएका थिए । लामो समय उठिरहेको विषय नेता र जनप्रतिनिधिले जनताको कुरा नसुन्दा यो परिस्थिति निर्माण भएको बताउदै अब नेताहरु सच्चिएर पार्टीलाई अगाडि बढाउनुपर्ने बताए ।

अन्तरक्रिया कार्यक्रम एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले स्वागत, सचिव रामजी पोखरेलको सञ्चालन र अध्यक्ष ओमबहादुर घर्ती मगरको अध्यक्षतामा भएको हो ।

सम्बन्धित खवर