ख्याहा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने

पाल्पा । रिब्दीकोट गाउँपालिका १ नं. वडामा रहेको ख्याहा स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हने भएको छ ।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्वास्थ्य चौकी पछिल्लो समय सोही स्थानमा रहेको भगवती प्राथमिक विद्यालयको दुई कोठाबाट सेवा दिँर्दै आएको छ । वडावासीलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सुविधा सम्पन्न नयाँ स्वास्थ्य चौकी निर्माणको तयारी गरिएको वडाध्यक्ष चिरन्जीवी पोखरेलले जानकारी दिनुभयो ।

पहिले स्वास्थ्य चौकी रहेको स्थान १ नं. वडाको कुमाल टाकुरा रातपोखरा भन्ने ठाउँमा स्थानीय पार्वता पाण्डेले तीन रोपनी जग्गा निशुल्क उपलब्ध गराएपछि भवन निर्माणको तयारी भएको हो । अहिले जग्गा गाउँपालिकाको नाममा नामसारी गर्ने प्रकृया अगाडि बढाइएको वडाध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले स्वास्थ्य चौकी भवन निर्माणका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा संघीय सरकारबाट एक करोड २० लाख र गाउँपालिकाबाट ८० लाख गरी कुल दुई करोड बजेट विनियोजन भएको बताउनुभयो ।

स्वास्थ्य चौकीको भवन बन्ने स्थानको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, वडाध्यक्ष चिरञ्जीवी पोखरेलसहित जग्गादाता र गाउँपालिकाका प्राविधिकहरूको टोलीले स्थलगत अनुगमन गरी ठाउँ निश्चित गरी गाउँपालिका र जग्गाधनीबीच जग्गा हस्तान्तरण गर्ने सम्झौता भएको हो ।

गाउँपालिका अध्यक्ष कार्कीले सम्पूर्ण प्रक्रिया पूरा गरी यथाशीघ्र नयाँ भवन निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाको मुख्य उद्देश्य नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताउदै नयाँ भवन बनेपछि यस क्षेत्रका जनताले सजिलो रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य चौकी भवन निर्माण हुनेभएपछि स्थानीयवासी खुसी भएको छन् उनीहरुले भवनका लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाता पाण्डेलाई धन्यवाद व्यक्त गरेको छन् । स्वास्थ्य चौकी भवन निर्माण भएपछि प्रसूति सेवासहित दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट २४ घण्टा स्वास्थ्य सुविधा उपलब्ध हुँदा यस क्षेत्रका नागरिकहरूलाई समय र आर्थिक रुपमा ठुलो लगानी गरी उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास वडाध्यक्ष पोखरेलको छ ।

सम्बन्धित खवर