जिल्ला समन्वय समितिको भवन निर्माण सुरु

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको नयाँ प्रशासकीय भवन निर्माणको काम सुरु भएको छ । तानसेन ४ बारुदखानमा शहरी विकास मन्त्रालय मोही रहेको अमरनारायण गुठीको करिब चार रोपनी जग्गा व्यवस्था भएपछि नयाँ भवन निर्माण कार्य सुरु भएको हो ।

भवन शहरी विकास तथा भवन निर्माण विभाग, सघन शहरी तथा भवन निर्माण आयोजना भैरहवा रुपन्देहीले निर्माण गरी समन्वय समितिलाई हस्तान्तरण गर्ने छ । आयोजना कार्यलयले निर्माण कार्यको सम्पूर्ण प्रकृया पूरा गरी चार करोड ४९ लाख ८ सय २८ रुपैयाँ १५ पैशा बजेटमा आर एण्ड आर सिभिल कन्स्टक्सन सेवालाई भवन निर्माणको जिम्मा लगाएको छ । जस अनुसार भवन निर्माणको लागि निर्माण व्यवसायीसंग २०८२ असार ४ गते सम्झौता भएको निर्माण व्यवसायी राजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले दुई वर्षको समय अवधि रहेको भवनको निर्माण कार्य २०८४ असार ३ गते भित्र सम्पन्न गरिसक्नुपर्ने छ । भुक्तानीमा समस्या नभए समयमै भवन निर्माणको काम सक्ने गरी कामलाई तीव्रता दिएको निर्माण व्यवसायी केसीको भनाइ छ ।

नयाँ बन्ने साढे तीन तलाको भवनमा १३ वटा कोठा बन्ने छन् । यस बाहेक बैठक हल र सभाहल समेत रहने निर्माण व्यवसायी केसीको भनाइ छ । प्रशासकीय भवन नहुँदा जिल्ला समन्वय समितिको दैनिक सेवा प्रवाहसहित अभिलेखीकरणमा समेत समस्या हुँदै आएको जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताउनुभयो । उहाँले भवन निर्माण भएपछि जिल्लामा रहेका स्थानीय तह र अन्य कार्यालयहरुको महत्वपूर्ण कागजपत्रको अभिलेख राख्न सहजता हुने बताउनुभयो । समितिका प्रमुख खनालको करिब तीन वर्षको सक्रियातापछि भवन निर्माण सुरु हुने अवस्थामा पुगेको जानकारी दिनुभयो ।

अहिले समितिको सुविधा सम्पन्न भवन नुहाँदा कर्मचारी बस्न समस्या, सेवाग्राहीलाई सेवा लिन समस्या हुँदै आएको छ । उपसचिव कार्यालय प्रमुख रहने समितको कार्यालयमा करिब १५ जनासम्मको कर्मचारी दरबन्दी व्यवस्था रहेको छ । जसमा प्राविधिक शाखा, सूचना शाखा, प्रशासनिक शाखा, नियमन शाखालगायतका शाखाहरुबाट सेवा प्रवाह हुन्छ । साँघुरो भवन भएका कारण जिविसका पुराना कागजपत्र जोगाउन र सहज रुपमा सेवा प्रवाहमा समेत कठिनाइ हुनेगरेको प्रमुख खनालको भनाइ छ ।

साविकको जिल्ला विकास समिति रहेको कार्यालय पाल्पा दरबार परिसरमा रहेको थियो । २०६२ साल माघ १८ गते तत्कालीन विद्रोही माओवादी आक्रमणमा दरबार ध्वस्त भएको थियो । त्यसपछि जिविस सभापति निवासमा टहरा निर्माण गरी सेवा दिँदै आएको कार्यालय देश संघीयतामा गएपछि नाम परिर्वतन भएर जिल्ल्ला समन्वय समिति भएको हो । पछिल्लो समय पुरातत्व विभागले पाल्पा दरवारलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्नका लागि आवश्यक पूर्वाधार निर्माण र सौन्र्दयकरणका लागि तानसेन नगरपालिकालाई अस्तव्यस्त रुपमा रहेका संरचना भत्काउन गरेको आग्रह अनुसार दरबार परिसरका संरचनाहरु क्रमिक रुपमा हटाउने सर्वदलिय र सर्वपक्षिय निर्णय अनुसार काम भैरहेको तानसेन नगरपालिकाका सूचना अधिकारी भरत्तप्रसाद आचार्यले बताउनुभयो । उहाँले विश्व सम्पदा सूचिमा दरबारलाई राख्नका लागि तानसेन नगरपालिकाले गुरु योजना तयार गरेर आवश्यक काम विभागसंगको सहर्कायमा अगाडि बढाएको जानकारी दिनुभयो । सोही अनुसार जिससले भवन अन्यन्त्र निर्माण गर्न लागेको हो । (करूवा)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय