विपद्मा खट्ने संस्था र निकायलाई परिवार नियोजनको सम्मान

पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखाले विश्व मानवीय सहायता दिवसका अवसरमा विपद् पूर्व तयारी, उद्धार तथा राहतका क्षेत्रमा काम गर्न विभिन्न संघसंस्था र निकायलाई सम्मान गरेको छ ।

शाखाले मानवीय सहायताका क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला प्रहरी कार्यालय पाल्पा, दि फेमस महिन्द्र दल गण पाल्पा, सशस्त्र प्रहरी बल पाल्पा, स्वास्थ्य कार्यालय पाल्पा र नेपाल पत्रकार महासंघ पाल्पा शाखालाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका कार्यवाहक सभापति माधव प्रसाद अर्यालले संघसंस्थालाई संयुक्त रुपमा सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रानाले समुदायलाई सबल बनाएर सम्मान जोगाउँदै मानवीय संकटमा लैगिंक तथा प्रजनन् स्वास्थ्य अधिकार प्रवद्र्धन गर्ने मुल नारालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्व मानविय सहायक दिवसलाई दिवसका रुपमा मात्र नभई संकल्पका रुपमा लिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल परिवार नियोजन सघ पाल्पा शाखाका कार्यवाहक सभापति अर्यालले सबै क्षेत्रबाट सहयोग हुने हो भने विपद्का बेलामा मानवीय जोखिम कम गर्न सकिने बताउनुभयो । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले विपद्का बेलामा सबै क्षेत्रको सहयोग आवश्यकता पर्ने तर विपद्का समयमा आफ्नो ज्यानसमेत जोखिममा राखेर काम गर्नेहरुलाई गरेको सम्मान महत्वपूर्ण रहेको बताउनुभयो ।

स्वास्थ्य कार्यालय पाल्पाकी पब्लिक हेल्थ नर्स शान्ति भण्डारीले परिवार नियोजन संघ पाल्पा शाखासँग सहकार्य गरेर काम गर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताउनुभयो । नेपाल नेत्रज्योति संघ पाल्पाका सभापति तथा नेपाल परिवार नियोजन संघका आजीवन सदस्य बुद्धीप्रसाद शर्माले मानविय सहायताका विषयका साथै यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा गरिने क्रियाकलापलाई आगामी दिनमा अझ बढी सक्रियताका साथ सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले संञ्चारको क्षेत्रबाट विपद्का बेलामा झकझकाउने साथै खबरदारी गर्ने काम भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ पाल्पा शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले समुदायलाई सशक्तिकरण गर्दै पूर्व तयारीमा जुट्ने क्षेत्रका विषयमा जानकारी गराउँदै बृहत यौन तथा प्रजनन् स्वास्थ्य सेवालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विपद्का बेलामा आपतकालिन क्षेत्रहरुका साथै सञ्चारकर्मीको सहयोग ठूलो रहने बताउनुभयो । (करूवा अर्धसाप्ताहिकबाट)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय