रिब्दीकोटको एक बोट सयको नोट अभियान

पाल्पा । रिब्दीकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।८३ मा एक बोट एक सयको नोट कृषि अभियान चलाउने भएको छ ।

गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषि क्षेत्रको विकास र विस्तारका लागि प्राथमिकतामा राखेर बजेट विनियोजन गरी अभियान चलाउने तयारी थालेको हो ।

गाउँपालिकाले पछिल्लो समय कृषि, पर्यटन र यातायात (कृपया) नीतिलाई आत्मसाथ गरेर काम गरिरहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । उहाँले कृषि, पर्यटन र यातायातको विकासमार्फत मात्र समृद्ध रिब्दीकोट निर्माण सम्भव रहेकोले यस अभियानलाई नतिजामुखी बनाउन अभियान चलाउन थालिएको बताउनुभयो । अभियान अन्तरगत जन्मथलोमा बसेर कृषि कर्म गरिरहेका आमनागरिक र जन्मघर छाडेर अन्यन्त्र बसोबास गर्दै आउनुभएका नागरिकलाई गाउँ फर्काएर कृषि कर्ममा जोडन एक बोट एक सयको नोट कृषि अभियान संचालनको तयारी गरिएको अध्यक्ष कार्कीको भनाइ छ । फलफूल र जडीबुटी बगैचाका लागि कम्तिमा एक सय बोट नयाँ विरुवा रोपण गरी बगैचा निर्माण गर्ने कृषकलाई प्रतिबोट एक सय रुपैयाँका दरले यस अभियानबाट आर्थिक सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा अभियानलाई समावेस गरिएको कार्यक्रमले कृषि कर्म गर्ने कृषकलाई थप प्रोत्सहान गर्न अध्यक्ष कार्कीको विश्वास छ । गाउँपालिका भित्रको भूगोल फलफूल र जडीबुटी बगैचाको लागि अत्यधिक सम्भावनायुक्त रहेकोले कृषिकर्म गरिरहेका कृषकहरुलाई अभियानले थप प्रोत्सहान गर्ने उहाँको विश्वास छ ।

रिब्दीकोटमा सुन्तला, नास्पाती, कागती, अलैची, आप, लिची, अमला, टिम्मुर, हर्रो, बर्रो, तेजपातलगायतको खेतीका लागि उपयुक्त जमिन रहेको गाउँपालिकाले जनाएको छ । आफ्नो ठाउँ अनुसार माटो सुहाउदो फलफूल र जडीबुटीको बगैचा तयार गर्न एक सय बोटसम्म विरुवा लगाउने कृषकलाई आर्थिक सहयोग गरिने गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयो । उहाँले जसका लागि गाउँपालिकाले यस आर्थिक वर्षका लागि ४० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

रिब्दीकोट गाउँपालिकामा अहिले करिब दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भैरहेको छ । वार्षिक रुपमा करिब ७ करोड रकम बराबरको सुन्तला विक्री हुने भएपनि अहिलेसम्म प्रमाणीत बगैचा भने छैन । यस्तैगरी जडीबुटी बगैचाको पनि रेकर्ड नभएको गाउँपालिकाले जनाएको छ । न्यूनतम तीन रोपनी क्षेत्रफलमा गरिएको खेतीलाई एउटा बगैचामा मान्निछ । यस अभियान अन्तरगत स्थापना भैसकेको फलफूल र जडीबुटी बगैचालाई अनुदान उपलब्ध गराइने छैन । नयाँ बगैचा निर्माण गर्ने कृषकहरुले मात्र अनुदान रकम प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनाल जानकारी दिनुभयो । उहाँले नयाँ बगैचा निर्माण गर्ने गरी काम थालेर रोपणका लागि पूर्वाधार तयार गरेपछि सहयोग रकम उपलब्ध गराइने बताउनुभयो ।

गत आर्थिक वर्ष २०८२÷८३ मा गाउँपालिकाबाट करिब २३ करोड बराबरको कृषिजन्य उत्पादनको विक्री भएको गाउँपालिका कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले बताउनुभयो । यसबाहेक गाउँपालिका भित्र रहेका कृषकहरुले आफ्नै लगानी व्यवस्थापन गरी गरेको आम्दानी भने अभिलेखमा समावेस नभएको गाउँपालिकाले जनाएको छ । (करूवा अर्धसाप्ताहिक पत्रिकाबाट)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय