
पाल्पा । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि शैक्षिक बहस कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल पाल्पा (पान) को आयोजनामा शैक्षिक बहस कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वर्तमान अवस्थामा सामुदायिक विद्यालयहरुको पूर्वाधारको गुणस्तर उत्कृष्ट बन्दै गएको र क्रमिक रुपमा शैक्षिक गुणस्तर पनि सुधार गर्दै जानुपर्ने बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावन र विद्यार्थी तीनै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । समय अनुसार सामुदायिक विद्यालयबाट उत्पादन भएका विद्यार्थी विश्व बजारमा विक्ने र टिक्ने ग्यारेण्टी हुने खालको शिक्षा प्रवाह गर्नुपर्ने प्रमुख खनालको भनाइ थियो ।
कार्यक्रममा रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीय सरकारले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुसंगको सहकार्यमा विभिन्न रचनात्मक कार्य गर्दै आएको बताउनुभयो ।
जिल्लाको विद्यालय शिक्षाको अवस्थाको बारेमा शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख प्रेमराज खरालले जानकारी गराउनुभएको थियो । यसका साथै शैक्षिक सरोकारवालाको तर्फबाट त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख डा. टंकप्रसाद पन्थ, विद्यालय व्यवस्थापन समितिको तर्फबाट जनता माध्यमिक विद्यालय तानसेनका अध्यक्ष रामजी पोखरेलले बोल्नुभएको थियो । गुणात्मकता, शिक्षण सिकाई उपलब्धि, स्रोतसाधनको उपलब्धता, सामुदायिक विद्यालयको वर्तमान अवस्था, नीतिगत अवस्था, शिक्षक, विद्यार्थी, अभिभावक र समन्वयकारी निकायको भूमिकामा विषयमा छलफल समेत गरिएको थियो । भुसलडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र बस्यालले शैक्षिक बहसको सहजीकरण गर्नुभएको कार्यक्रममा दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले आफ्नो विद्यालयमा गर्दै आएको असल अभ्यास र सिकाईका विषयमा जानकारी गराउनुभएको थियो ।
मदास एजुकेसनका विश्वराज पंगेनीले प्रविधियुक्त शिक्षणको उपयोग र उपादेयताका विषयमा प्रकाश पार्नुभएको कार्यक्रममा पानको गठन र उद्देश्यका बारेमा पान लुम्बिनी प्रदेशका अध्यक्ष हरिप्रसाद घिमिरेले जानकारी गराउनुभयो । बहस कार्यक्रम पान पाल्पाका अध्यक्ष मोहनप्रसाद सापकोटाको अध्यक्षता र सचिव विष्णु सिग्देलको सञ्चालनमा चलेको हो ।









