माथागढीको रत्न माविमा पाँच लाखको अक्षयकोष स्थापना

पाल्पा । माथागढी गाउँपालिका ४ नंं. वडा निवासी लक्ष्मण बहादुर जिसीले रत्न माध्यमिक विद्यालयमा पाँच लाखको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

जिसीले आफ्नो ८१ औं जन्मोत्सवका अवसरमा आफूले अध्ययन गरेको विद्यालयमा अक्षयकोष स्थापना गरिदिनुभएको हो । विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा जिसीले पाँच लाखको चेक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा माथागढी गाउपालिका अध्यक्ष यम बहादुर चिदीले जिसी धनको मात्र नभई मनको समेत धनी रहेको बताउनुभयो । उहाँले जन्मदिनको अवसरमा गरेको सहयोगले अन्य मनकारी व्यक्तिहरुलाई पनि राम्रो काम गर्ने प्रेरणा मिल्नुका साथै शैक्षिक क्षेत्रमा थप जिम्मेवारी बन्न सिकाउने बताउनुभयो । प्रत्यक वर्षको एईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई दिने गरी स्थापना गरिएको अक्षयकोषले उच्चशिक्षा अध्ययनमा समेत मद्दत गर्ने अध्यक्ष चिदीको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेर नमुना काम गरेको बताउनुभयो । उहाँले जिसीलाई जन्मोत्सवको शुभकामना व्यक्त गर्दै अक्षयकोषले विद्यार्थीहरुको शैक्षिक सुधारमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका ३ नं. वडाका वडाध्यक्ष तेजबहादुर घर्तीमगर जन्मदिन खर्चिलो बन्दै गएको समयमा जिसीले विद्यालयलाई गर्नुभएको सहयोग अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो । उहाँले सबै सचेत र सक्षम नागरिकले सहयोग गरेको खण्डमा सामुदायिक विद्यालय आर्थिक र गुणस्तरका हिसावले कमजोर नहुनेमा जोड दिनुभयो ।

विद्यालयका प्रद्यानाध्यापक नीर बहादुर सारूले जिसीलाई अक्षयकोष स्थापना गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले स्थापना भएको अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई ठुलो सहयोग हुने बताउनुभयो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर जिसीको अध्यक्षतामा चलेको थियो । रत्न माध्यमिक विद्यालयका लागि अक्षयकोष दाता लक्ष्मण बहादुर जिसीको स्वर्गीय बुबा बमबहादुर जिसीले सहयोग गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय