पाल्पा टेक्निकलका ३९ जना विद्यार्थी दीक्षित

तानसेन । पाल्पा टेक्निकल इन्स्टिच्युट तानसेन, पाल्पाका ३९ जना विद्यार्थी दीक्षित भएका छन् । पहिलो पटक १४ जिल्लाबाट आएर इन्स्टिच्युटमा हेल्थ असिस्टेन्ट अध्ययन पूरा गरेका ३९ जना विद्यार्थीलाई सोमबार दीक्षित भएका हुन । हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियनको पठनपाठन हुँदै आएको यस इन्स्टिच्युटले ३० औँ वार्षिकोत्सवका अवसरमा विद्यार्थीलाई प्रथम दीक्षान्त समारोह राखेको प्रिन्सिपल त्रिलोचन पौड्यालले बताउनुभयो ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना, लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, इन्स्टिच्युटका अध्यक्ष भेषराज नेपाल, प्रिन्सिपल त्रिलोचन पौड्यालले संयुक्त रुपमा विद्यार्थीलाई टोपीसहित प्रमाणपत्र प्रदान गरेर दीक्षित गर्नुभएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सेना प्राविधिक शिक्षा अध्ययन गर्ने प्राविधिक जनशक्ति अहिलेको श्रम बजारका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले पहाडी जिल्लामा रहेको यस इन्स्टिच्युटले लुम्बिनी प्रदेशका धेरै जिल्लाका विद्यार्थीलाई सेवा दिएको र आगामी दिनमा थप विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनेमा विश्वस्त रहेको बताउनुभयो । ‘श्रम बजारमा आवश्यक रहेको हेल्थ असिस्टेन्ट (एचए) र ल्याब असिस्टेन्ट अध्यापन गराएर सरकारलाई ठूलो सहयोग पुगेको गरेकोमा मन्त्री तिमिल्सेनाले ‘अहिले प्राविधिक जनशक्तिलाई रोजगार र स्वरोजगारको कुनै समस्या नरहेको समेत बताउनुभयो ।

प्रदेश सभा सदस्य रानाले आफूलाई विज्ञ र दक्ष बनाउन सिकाइलाई अझ बढाएर लैजान विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले इन्स्टिच्युटले सयौं विद्यार्थीलाई उत्तीर्ण गराएर दुर्गम गाउँसम्म पुगेर सेवा गर्न सक्षम बनाएकोले सोही अनुसार विद्यार्थीले आफ्नो दक्षता उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले पाल्पाका मात्र नभई अन्य जिल्लाका विद्यार्थीलाई पनि प्राविधिक शिक्षा दिएर समय अनुसार प्राविधिक जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले दुर्गम क्षेत्रमा रहेका विपन्न परिवारका छोराछोरी पनि तानसेनमा आएर सस्तो र सुविधायुक्त स्थानमा पढ्न पाउने अवसर रहेको बताउनुभयो ।

कार्यक्रममा पाल्पा टेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल पौड्यालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा इ–लाइब्रेरी, श्रव्यदृश्य सामग्री थप व्यवस्थापन, प्रयोगशालालाई स्तरोन्नति गर्दै लैजाने, शिक्षकलाई थप तालिमको व्यवस्था गर्ने लगायतका काम गरिने बताउनुभयो ।

सम्बन्धित खवर