भड्किलो बन्दै तीज पर्व

पाल्पा । पछिल्लो समय महिलाहरुको महान पर्व हरिताका तीज पर्व भड्किलो बन्दै गएको गुनासो बढेकाे छ । पहिलेको तुलनामा तीज पर्व अब भक्ति र व्रतको मात्र नभई भड्कििलो तामझाम, फेसन, भोजभतेर र मनोरञ्जनको पर्व बन्दै गएपछि गुनासो बढेकाे हो ।

एक महिना अघि देखि नै विभिन्न पार्टी प्यालेस, होटल तथा रेस्टुरेन्टहरूमा तीजको दर खाने कार्यक्रमका नाममा युट्युबका गीतमा रमाउने रंगीचंगी पहिरन लगाउने, गहना र नाचगानलाई प्रमुखता दिँदा तीजको मौलिकता हराएको तीज अब पवित्र धार्मिक आस्थाको भन्दा पनि सामाजिक प्रतिस्पर्धाको पर्व बन्न थालेको पत्रकार रीमा सोमैले बताउनुभयो ।

धार्मिक तथा सामाजिक व्यक्तिहरूका अनुसार तीज मूलतः आत्मशुद्धि, साधना र व्रतको पर्व हो । यसमा महिलाहरू पतिको दीर्घायुका लागि व्रत बस्ने, दुःखी महिलाहरूले आफ्नो वेदना पोख्ने र सामाजिक न्यायको माग गर्ने परम्परा थियो । तर अहिले तीजले फेसन शो, सौन्दर्य प्रदर्शन र खर्चिलो भोजको रूप अगाडि बढेको उनीहरुको भनाइ छ ।

प्रत्येक वर्ष झण्डै सयभन्दा बढी तीजका गीतहरू बजारमा आउने गरेका छन् । धेरैजसों गीतहरूमा नारी सशक्तिकरण र सामाजिक यथार्थ झल्काउने प्रयास गरेपनि केही गीतमा अश्लीलता र भड्किलोपनले स्थान पाएको देखिन्छ । यस तर्फ पनि सरोकारवालको ध्यान पुग्न नसकेको गुनासो महिलाहरुले नै गर्ने गरेका छन् ।

महिलाहरुले तीजलाई रमाइलो पर्वको माध्यम बनाइएको भएपनि यसको मौलिकता मेटिनु दुःखद कुरा रहेको पत्रकार बन्दना पोखरेलले बताउनुभयो । जुनसुकै पर्व मनाउदा पनि हामीले संस्कार र समयको सन्तुलन गर्नसक्नुपर्ने उहाँको भनाइ छ ।

तीज पर्वको स्वरूप समय अनुसार परिवर्तन हुनु स्वाभाविक भए पनि यसको मूल मर्म र सांस्कृतिक महत्वलाई बिर्सन नहुँने जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख काशीका गैरेले बताउनुभयो । उहाँले नारीहरूको एकता, आत्मशुद्धि, समानताको आवाज र सामाजिक चेतनाको पर्वको रूपमा तीजको पहिचानलाई जोगाउँदै नयाँ पुस्तामा स्थानान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । अझै पनि ग्रामीण भेगमा सोचेजस्तो भड्किलो नरहेको तीज पर्वलाई सहरी क्षेत्रमा मर्यादित बनाउन कार्यालय, संघसंस्थाहरुको दर खाने कार्यक्रमलाई कम गर्दै लैजानु पर्ने उपप्रमुख गैरेको भनाइ छ ।

तीज पर्व नेपाली हिन्दू नारीहरूको प्रमुख धार्मिक पर्व हो । जसलाई आत्मशुद्धि, अध्यात्मिक साधना, पारिवारिक समर्पण र सामाजिक सद्भावमा आधारित रहेर मनाउनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रा गहतराजले बताउनुभयो । उहाँले तीज भड्किलो बन्दा हुँदा खाने परिवारले तीज पर्व मनाउन नसक्ने अवस्था बन्दै गएकोले यस विषयमा सबै पक्ष जिम्मेबार भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

विवाहित महिलाहरू तीजको दिन व्रत बस्दै भगवान शिवको पूजा गरी आफ्ना पतिको दीर्घायु, सुख, समृद्धिको कामना गर्ने, अविवाहित किशोरीहरूले सुयोग्य जीवनसाथीको प्राप्तिको कामना गर्दै व्रत लिने गर्छन । यस पर्वमा महिलाहरू एकआपसमा भेला भई दुख–सुख साटासाट गर्ने, नाचगान र भक्ति भाव प्रकट गर्ने गर्छन् । तीज नारीहरूको भित्री पीडा व्यक्त गर्ने, सामाजिक असमानता विरुद्ध आवाज उठाउने र महिलाबीचको एकता प्रदर्शन गर्ने अवसर भएपनि पछिल्लो समय प्रर्दशन र प्रतिस्पर्धामा अल्झिन पुगेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय