
पाल्पा । आर्थिक वर्ष २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकन (लिसा) मा पाल्पाका आठ गाउँपालिका मध्ये रिब्दीकोट गाउँपालिका पहिलो भएको छ । रिब्दीकोटले ८७ दशमलव ७५ अंकसहित गाउँपालिकामा पहिलो भएको हो । यस्तै गरी बगनासकाली गाउँपालिका दोस्रो भएको छ । बगनासकालीले ८५ दशमलव २५ अंक प्राप्त गरी दोस्रो भएको हो ।
स्थानीय सरकार सञ्चालन ऐनको मर्म तथा भावना अनुरूप स्थानीय तहहरूको समग्र कार्य सञ्चालन अवस्थाको विश्लेषणका लागि ऐनको दफा ८० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि अनुसार शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार रैनादेवी छहरा र रम्भा गाउँपालिकाले ८४ दशमलव ७५ अंक प्राप्त गरेका छन् । यस्तै गरी तिनाउ गाउँपालिकाले ७६ दशमलव ७५, निस्दी गाउँपालिकाले ७६ दशमलव ५०, पूर्वखोला गाउँपालिकाले ७५ दशमलव २५ र माथागढी ७३ दशमलव ७५ अंक प्राप्त गरेका छन् । यस्तैगरी जिल्लाका दुई नगरपालिकामा तानसेन नगरपालिकाले ८८ दशमलव ७५ अंक प्राप्त गरेको छ । रामपुर नगरपालिकाले ८० दशमलव २५ अंक ल्याएको छ । सार्वजनिक भएको समग्र नतिजालाई हेर्दा जिल्लाका दश पालिका मध्ये सबै भन्दा बढी तानसेन नगरपालिकाले प्राप्त गरी पहिलो भएको छ ।
गाउँपालिकाहरु मध्ये पहिलो भएकोमा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी र सहयोगीहरुलाई धन्यावाद व्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा नतिजा थप सुधार गर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । देशभरीका चार सय ६० गाउँपालिकामध्ये रिब्दीकोट गाउँपालिका पाँचौ स्थानमा परेको समेत जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकनको कार्यविधिले समग्र स्थानीय तहहरूको तुलनात्मक अध्ययन गर्छ । जसमा १० वटा विषयगत क्षेत्र (शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, विषयगत बजेट तथा योजना व्यवस्थापन, वित्तीय तथा आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण तथा विपद् व्यवस्थापन र सहकार्य तथा समन्वय) तोकिएका छन् ।









