तिनाउको समृद्धिका विषयमा पूर्व गभर्नर नेपालसंग छलफल

पाल्पा । तिनाउ गाउँपालिकाले विकास र समृद्धिका विषयमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर डा. चिरञ्जीवी नेपालसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८२।८३ को गाउँ विकास वार्षिक कार्यक्रम पुस्तिका सार्वजनिक कार्यक्रममा छलफल गरिएको हो ।

कार्यक्रममा पूर्व गर्भनर डा. नेपालले पर्यटन क्षेत्रको लागनीबाट छिटो प्रतिफल लिन सकिने भएकोले सम्भावना अध्ययन गरी लगानी बढाउन आग्रह गनुृभयो । उहाँले दैनिक छिमेकी मुलुक भारतको बेलहिया नाका हुँदै हजारौको संख्यामा पर्यटक आउने उल्लेख गर्दै उनीहरुलाई तिनाउ गाउँपालिका एक पटक आउने र बस्ने गरी पर्यटन विकासको योजना तयार गरी कार्यान्वयन गर्दा तिनाउको अर्थतन्त्रमा ठुलो सघाउ पुग्ने बताउनुभयो । तिनामा रहेको झुम्सा खोला र तिनाउ खोलाको उचित संरक्षण र संर्वद्धन गरी पर्यटन अर्थतन्त्रसंग जोड्दा दिगो आर्थिक लाभ लिन सकिने पूर्व गर्भनर डा. नेपालको भनाइ थियो ।

छलफलमा गाउँपालिकाको सम्भावना तथा चुनौती बारेमा जानकारी गराउनुका साथै पालिकाको आर्थिक सुधार गर्दै कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा पूर्व गर्भनर डा.नेपालसंग छलफल गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तिनाउको सम्भावना, पर्यटन प्रर्वद्धन, पूर्वाधार विकास, धार्मिक पर्यटनसहित जल, जमिन, जलवायु र जनशक्तिको विकास र परिचालनका सन्र्दभमा पूर्व गर्भनर डा.नेपालले सहजीकरण गर्नुभएको बताउनुभयो ।

प्रवक्ता यादव अर्यालले आफ्नो अनुभवलाई तिनाउको विकासमा खर्च गर्न आग्रह गर्नुभयो । उहाँले अर्थतन्त्रको जानकार भएको हिसाबले स्थानीय तहलाई कसरी आर्थिक रुपमा बलियो बनाउन सकिन्छ भन्ने विषयमा सघाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले कृषि, पर्यटन, उद्योग र स्थानीय स्रोत–साधनको प्रभावकारी उपयोगमार्फत दिगो विकास गर्न सक्ने सम्भावना रहेको बताएका थिए । तर, आवश्यक पूर्वाधार, दक्ष जनशक्ति, बजेट अभाव र सुशासन प्रवद्र्धनका क्षेत्रमा चुनौती रहेकोले सम्भावना अनुसार काम गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय