
पाल्पा । साहित्यकार तथा उपप्राध्यापक डा. शंकरप्रसाद गैरेद्वारा लिखित उपन्यास सूतपुत्रको लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा नेपाली विभागको आयोजनामा कार्यक्रम भएको हो ।
२५३ पृष्ठमा लिखित पुस्तकमाथि समीक्षा गर्दै समीक्षक प्राध्यापक पुष्कर आचार्य र राजेन्द्र विश्वकर्माले उपन्यासमा समाजमा रहेका अन्याय र व्यथितिहरूलाई महाभारतका महानयोद्धा कर्णको जीवन संर्घष समेटिएको बताउनुभयो । उहाँहरुले जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको चरित्र चित्रण गर्दै हाम्रै गाउँ सहरको बिम्वलाई प्रस्तुत गरेको र सामाजिक समस्याहरू चेतनाको माध्यमबाट निरुत्साहित गर्नुपर्छ भन्ने सन्देस दिएको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्तले गैरे वर्तमान समयमा नेपाली साहित्यको ब्राण्ड भइसकेको र नेपाली भाषाका विभिन्न विधामा उत्तिकै अब्बल रहेर कलम चलाउदै विभिन्न प्रकारका विषय प्रसङ्गको यथार्थ चित्रण गर्न सफल रहेको बताउनुभयो ।
लेखकीय मन्तव्य व्यक्त गर्दै गैरेले जुनसुकै परिवारको व्यक्ति सफल हुनु भनेको परिवारका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने भन्दै सम्पूर्ण पाठकहरुले पुस्तक मन पराएर पढ्न सक्नु नै आफू सफल हुने बताउनुभयो
पूर्व क्याम्पस प्रमुख चोलेश्वर शर्माले कृति अत्यन्त गहकिलो र नेपाली साहित्यमा उल्लेख्य कृतिको रुपमा आएकोले पाठकहरुको ध्यान केन्द्रित गर्न सफल हुने र कृतीमा निरन्तरता हुनुपर्ने बताउनुभयो ।
तानसेन ९ का वडाध्यक्ष राजेश कुमार अर्यालले नेपाली साहित्य महाभारत र रामायणमा आधारित रहेर लेखिने भन्दै कृतिको ओज हेरेर मात्र बुक हिल प्रकाशन सस्थाले पुस्तक प्रकाशन गर्ने गरेकोले यो पुस्तक त्यस प्रकाशनमा पर्न सफल भएको बताउनुभयो । उहाँले महाभारतमा वेदव्यासले कल्पना गरेको भरमा लेखेको हो कि साँच्चिकै वास्तविक सामाजिक घटनामा आधारित रहेर लेखन गरिएको हो भन्ने विषयमा आफैं अन्योल रहेको जिज्ञासा समेत व्यक्त गर्नुभयो ।
तानसेन बहुमुखी क्याम्पसका प्रमुख पुष्करराज रेग्मीले क्षेत्री बाबा र ब्राह्मण जाति कि आमाबाट जन्मेको बच्चा सूतपुत्र हुने परिभाषा व्यक्त गर्दै महाभारतमा रहेका कर्ण पात्र सहित अन्य प्रमुख पात्रको मुख्य भूमिकाको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रमका त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले हरेक विषयवस्तुलाई फरक फरक ढंगले विश्लेषण गर्न सक्ने खुबी भएका गैरेको मूर्तकृति समग्र नेपाली भाषा साहित्यको महत्वपूर्ण सम्पदा रहेको बताउनुभयो । डा. गैरेले अघि उज्यालोतिर, कृष्णलगायतका कृतिहरु प्रकाशन गरिसक्नुभएको त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक महेन्द्र पन्थीले जानकारी दिनुभयो । करूवा पत्रिकाबाट









