सहकारीको रकम अपचलन आरोपमा बम्रेल पक्राउ

पाल्पा । रम्भा गाउँपालिका–४ हुमिनको लालीगुँरास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलनकाे आरोमपमा व्यवस्थापक विष्णुबहादुर बम्रेल पक्राउ परेका छन् ।

उनी साउन २६ गते आफ्नै हुमिन घरबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँले सहकारी संस्थाको करिब दुई करोड ८७ लाख ५७ हजार ठगी आरोपमा व्यवस्थापक बम्रेललाई पक्राउ गरिएको बताउनुभयो । सहकारी संस्थामा फर्जी कर्जादाता तयार गरी रकम अपचलन गरेको आरोपसहित सहकारी संस्थाका अध्यक्ष सुवी विकले दिनुभएको उजुरीका आधारमा बम्रेललाई पक्राउ गरिएको बताउनुभयो ।

गत २०८१ माघमा अध्यक्षमा निर्वाचित हुनुभएकी विकले रकम लगानीका विषयमा सोधपुच गरेपछि मात्र सहकारी संस्थाका सञ्चालक समितिलाई थाहै नदिई रकम अपचलन गरेको थाहा पाएको बताउनुभयो । सोही अनुसार रकम असुलीका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

यस सहकारी संस्थामा रम्भा, पूर्वखोला, बगनासकाली र माथागढी गाउँपालिकाका नागरिकहरुले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । विभिन्न स्थानमा रहेको सेवा केन्द्रबाट सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएको थियो । करिब एक हजार बचतकर्ताको पाँच करोड र राष्ट्रिय सहकारी बैँकको सहुलियतको झण्डै एक करोड रकम फिर्ता गर्न बाँकी रहेको संस्थाका पदाधिकारीले बताएका छन् । सहकारी संस्थाको रकम अपचलन भएको हल्लाचलेपछि बचतकर्ताले बचत रकम फिर्ता गर्न सञ्चालक समितिलाई दवाव दिँदै आएका छन् । यस सहकारी संस्थामा झण्डै एक हजार सेयर सदस्य रहेका छन् । पक्राउ परेका बम्रेल २०६४ सालदेखि सहकारी संस्थाको संस्थापक अध्यक्ष र पछि कार्यकारी व्यवस्थापक भएका थिए । पक्राउ गरी पहिलो पटक ७ दिनका लागि जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै तीन महिना अघि तिनाउ–६ को फुलबारी बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रामबहादुर पन्थ पनि पक्राउ परेका थिए । पक्राउ परेका पन्थले सहकारी संस्थाको ६० लाख बढी रकम अपचलन गरेको आरोप छ । सोही आरोपमा जिल्ला अदालत पाल्पाले उनलाई ५० लाख धरौटी माग गरेको थियो । तर धरौटी बुझाउन नसकेपछि पूर्पक्षका लागि थुनामा रहेको जिल्ला अदालत पाल्पाका श्रेष्तेदार केशवराज पराजुलीले जानकारी दिनुभयो । सो मुद्दा अझै किनारा नलागेको उहाँको भनाइ छ ।

सम्बन्धित खवर