
देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारु र प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठबीच कार्यसम्पादन सम्झौता भएको छ । आर्थिक वर्ष २०८२÷८३ मा सञ्चालन गरिने योजना तथा कार्यक्रमका लागि कार्यसम्पादन सम्झौता गरिएको हो ।
सचिव श्रेष्ठको भूमिकालाई अझ बढी सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाई स्वास्स्थ्य मन्त्रालयबाट सञ्चालन हुने कार्यक्रम र सेवा प्रवाहमा सुधार गर्दै नतिजा केन्द्रित गर्न कार्यसम्पादन सम्झौता गरिएको मन्त्री सारुले बताउनुभयो । सम्झौताको २०८३ असार मसान्त सम्म रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्झौतामा संलग्न सूचकहरु बमोजिम आफूले गरेका कार्यहरु चौमासिक रुपमा र आर्थिक वर्ष समाप्त भएको ७ दिनभित्र मन्त्री समक्ष स्वमुल्यांकन प्रतिवेदन बुझाउनुपर्ने उल्लेख छ । बाल मृत्यूदर, मातृ मृत्यूदर, पूर्ण खोप उपलब्धता भएका बालबालिका, पाँच वर्ष मुनिका कम तौल भएका, पुड्कोपना भएका, ख्याउटेपना भएका, मन्त्रालय अन्तरगतको समग्र खर्च, बेरुजु फछ्र्यौट, गुनासो फछ्र्यौट, प्रदेशमा स्वास्थ्य बिमामा आवद्ध जनसंख्यालगायतका विषयमा आर्थिक वर्षको अन्त्यमा पूरा गर्नुपर्ने लक्ष्य तोकिएको सम्झौता उल्लेख छ ।
त्यस्तै विभिन्न भौतिक संरचना निर्माण तथा पुनः निर्माण, पोषण सुधार कार्यक्रम, संक्रामक रोग न्यूनीकरण, ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्ने, रक्तसञ्चार सेवा कार्यक्रम, प्रदेशभित्रका विपन्न नागरिक स्वास्थ्य उपचार आर्थिक सहुलियत कार्यक्रम, स्वास्थ्य सम्बन्धी विभिन्न नीति, ऐन, नियमावली, रणनीति, निर्देशिका, मापदण्ड, कार्यविधि तथा उपचार प्रोटोकल निर्माण गर्ने विषयमा कार्यसम्पादन गर्नुपर्ने गरी सम्झौता गरिएको मन्त्रालयले जनाएको छ ।
कार्यसम्पादन सम्झौतामा पहिलो, दोश्रो, तेश्रो चौमासिक र वर्षभरी गर्नुपर्ने कामको वर्गीकरण गरिएको छ । प्रदेश सचिव दुर्गालक्ष्मी श्रेष्ठले कार्यसम्पादन सम्झौताले काम गर्न थप हौसला मिलेको बताउनुभयो । उहाँले सम्झौता अनुसार काम गर्ने डेडलाइन हुँदा थप सक्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्रालय लुम्बिनीले स्वास्थ्य निर्देशनालय र निर्देशनालयले मातहतका संस्थाहरु संग कार्यसम्पादन सम्झौता गरेर प्रभावकारी कार्यान्वयन गर्ने तयारी गरेको समेत सचिव श्रेष्ठले जानकारी दिनुभयो ।









