
पाल्पा । माथागढी गाउँपालिका ३ नं. वडामा रहेको लखनपार्कमा हाईमास्ट लाइट जडान गरिएको छ ।
व्यायामका लागि साझ र विहान पुग्ने स्थानीयलाई सहजताका लागि लाइट जडान गरिएको हो । यस पार्कमा हिडडुल गर्नेको संख्या उल्लेख्य मात्रामा रहने गरेको छ । गाउँपालिकाले सुरक्षा र सौन्र्दयकरणलाई ध्यानमा राखेर हाईमास्ट लाइट जडान गरेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय खानपान र आधुनिक जीवनशैलीका कारण नागरिकहरुमा नसर्ने रोगको बढ्दो जोखिम कम गर्न व्यायाम र हिडडुल अति आवश्यक रहेकोले सोको सहजताका लागि गाउँपालिका जिम्मेवारपूर्वक काम गरिरहेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकार उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा दुई वटा हाईमास्ट लाइट माग गरेको भएपनि एक मात्र उपलब्ध भएको ३ नं. वडका वडाध्यक्ष तेजबहादुर घर्तीमगरले बताउनुभयो । उहाँले आगामी दिनमा माग र आवश्यकताका आधारमा लाइट जडान गरिने बताउनुभयो । लाइट जडान गरेसंगै विहान सबैरे र राती अबेरसम्म हिडडुल गर्ने स्थानीयको चलहपलल बढेको छ ।







