अन्धाधुन्ध खर्चका विषयमा तानसेन खानेपानीको पत्रकार भेटघाट

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिले अन्धाधुन्ध खर्च गरेको समाचारका विषयमा पत्रकार भेटघाट गरी स्पष्ट पार्ने प्रयास गरेको छ । उपभोक्ता समितिले कार्यसम्पादन गर्दा समितिको विद्यान, सार्वजनिक खरिद ऐन र अन्य कानुनी विधि, प्रक्रियालाई बेवास्ता गरी काम गरेको विषयमा विभिन्न मिडियामा आएको समाचारलाई मध्यनजर गर्दै पत्रकार भेटघाट गरेको हो ।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले उपभोक्तालाई सहज रुपमा नियमित खानेपानी उपलब्ध गराउने उद्देश्यले छिटो कार्यसम्पादन गर्नुपरेकोले केही समस्या भएको हुनसक्ने बताउनुभयो । उहाँले आफूहरु सकेसम्म राम्रो काम गर्न प्रतिबद्ध रहेको बताउदै गलत नियतले समितिबाट कुनै काम नभएको बताउनुभयो । अहिलेसम्म भै गरेका काम राम्रो सोचका साथ गरिएको र काम गर्दै जाँदा केही कमजोरी भएकोमा स्वीकार गर्दै आगामी दिनमा सच्चाएर अगाडि बढ्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तानसेन खानेपानी उपभोक्ता समितिले सर्वसाधारण ग्राहबाट उठाएको शूल्कमा सुविधा सम्पन्न कार्यालय व्यवस्थापनमा ठुलो रकम खर्च गरेको, प्रतिश्प्रर्धा बिना कर्मचारी भर्ना गरेको, विद्यान मै उल्लेख नभएको कल्याणकारी कोषमा रकम उठाउने र वितरण गर्ने गरेको, गणपूरक सदस्य संख्या नै नपुग्ने गरी साधारण सभा गरेको, खरिद प्रक्रिया पालना नगरेको जस्ता विषयमा पत्रकारहरुले प्रश्न राखेका थिए । उनीहरुले अनाबश्यक क्षेत्रमा खर्च गर्नुभन्दा गरिव उपभोक्तालाई पानीको महसुलमा सहुलियत दिन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले कानुन र प्रक्रिया मिचेर कुनै पनि काम गर्न सार्वजिक संस्थाले नहुने बताउनुभयो । ऐन कानुनको अधिनमा रहेर उपभोक्तालाई सहज रुपमा खानेपानी वितरण गर्नुपर्ने दायित्व समितिमा रहेको बताउदै अध्यक्ष तिमिल्सेनाले पाल्पाली पत्रकारहरुले समितिको गुण र दोषका आधारमा सघाउदै आएको स्मरण गराउनुभयो ।

केही वर्ष समिति कै कारण असहज भएको तानसेनको खानेपानी वितरणमा नयाँ नेतृत्व आएपछि सहज बनाएकोमा नगरवासीले समितिलाई धन्यवाद दिँदै आएका थिए । पानी सहज बनाएकै नाममा सर्वदलिय राजनीतिक दलको सहमती र सहभागितामा चयन भएको समितिलाई विधि, विद्यानबाट अलग रहेर गलत काम गर्ने छुट नभएको उपभोक्ताले समाचार आएपछि बताउन थालेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय