
पाल्पा । परम्परागत सांस्कृतिक महत्व रहेको गाईजात्रा पर्व पाल्पा पनि मनाइएको छ ।
विशेष गरी नेवार समुदायले मनाउने यो पर्व पाल्पामा भने सबै समुदायले मनाउने गरेका छन् । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने यो पर्वमा नेवार समुदायबाट सुरुवात भएपनि पाल्पाका सबै समुदायले मनाउने गर्दछन् ।
गाईजात्रामा काम्ले गाई, बाशा, ताहामचा वा मानिसहरु जोगी वा गाईको रूपमा सिङ्गारी आ–आफ्ना बजार क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ । पाल्पा सदरमुकामा तानसेनसंगै ठूला शहरहरु रामपुर, जब्गादी, ताहुँ , भैरवस्थान, सराई, आर्यभन्ज्याङलगायतका स्थानमा गाईजात्रा, बाशा निकालिएको थियो । उनीहरूलाई दुखमा रहेका श्रद्धालुले दुध, फलफूल, रोटी, चिउरा, जुस, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए । भाद्र कृष्ण प्रथिपदाको दिन वर्षभरिमा दिवंगत भएका मानिसको नाममा गाई बनाएर बजार परिक्रमा गर्ने गरिन्छ । पछिल्लो समय तानसेनमा काम्ले गाई ल्याउने प्रचलन हराउदै गएको छ । यसका साथै गाईजात्रा हेर्न र मनाउनका लागि पहिलेजस्तो गाउँगाउँबाट बजार आउनेको संख्यामा पनि कमि हुँदै गएको जानकारहरुको भनाइ छ ।
ऐतिहासिक कथन अनुसार पुत्र वियोगले शोकाकुल भएकी आफ्नी रानीलाई सान्त्वना दिन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो घरमा एक वर्षभित्र मरेका व्यक्तिका नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए । तर, यसले पनि रानीको मन शान्त नभएपछि विभिन्न खालका व्यंग्यात्मक कार्यक्रम पनि गर्न आदेश दिए अनुसार सुरु भएको गाईजात्रा अहिले पनि चलिआएको छ ।
यस वर्ष गाईजात्राको अवसरमा तानसेन नगरपालिकाले स्थानीय विदा दिएको थियो । नेवार समुदायले मृत्यु संस्कारसंग जोडिएको पर्व भएपनि गाईजात्रा तानसेनमा बस्ने सबै समुदायले मनाउने सामाजिक पर्वको रुपमा विकास भएको हुँदा स्थानीय विदा दिइएको नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । गाईजात्रामा मृतकको घरबाट साना साना बच्चाहरुलाई विष्णु, राम, कृष्ण आदि देवी देवताको रुपमा अनि गोगीको रुपमा सिंगारी, बाशा, जोगी बनाएर निगुर्ण र रामायणसंगै बजारको विभन्नि क्षेत्रमा घुमाउने गरिन्छ ।







