
पाल्पा । तिनाउ गाउँपालिकाले आफ्ना भूमिहिन नागरिकलाई जग्गाको निस्सा वितरण गरेको छ ।
आफ्नो जग्गा नभएका नागरिकहरुलाई जग्गाको मालिक बनाउन गाउँपालिकाले तीव्र रुपमा काम गर्दै आएको भएपनि विभिन्न कारणले समयमा कार्य सम्पन्न गर्न कठिनाइ हुँदै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका छ वटै वडामा रहेका दुई सय ४ जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई पहिलो चरणमा जग्गाको निस्सा वितरण गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाको तर्फबाट कार्य सम्पन्न भएको र अब बाँकी प्रकृया भूमि समस्या समाधान आयोगले सम्पादन गरी जग्गाधनी पूर्जा वितरण गर्ने बताउनुभयो । यसका साथै गाउँपालिका भित्र रहेका करिब एक हजार ४ सय अव्यवस्थित जग्गाहरुको लागि वडा पुगेर निस्सा वितरण गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
वितरण गरिएको जग्गाको निस्सा अनुसार वडाबाट गाउाँपालिकामा र गाउँपालिकाले भूमि समस्या समाधान आयोग, पाल्पालाई सिफासिर पठाएपछि जग्गा नापजाँचको काम सुरु हुने आयोगका पाल्पा अध्यक्ष रामबहादुर कार्कीले बताउनुभयो । उहाँका भूनिहिन दलित, भूमिहिन सुकुम्बासीको काम गरेपछि क्रमिक रुपमा अव्यवस्थित जग्गाको प्रकृया अगाडि बढाइने बताउनुभयो ।
जग्गाको निस्सा पाएपछि जग्गाधनी पूर्जा हात लाग्ने आश जागेको नागरिकले बताएका छन् । लामो समयदेखि प्रकृयामा गएको भएपनि अहिले गाउँपालिकाबाट निस्सा लिन पाउँदा लालपूर्जा पाउनेमा विश्वास बढेको उनीहरुको भनाइ थियो ।








