
पाल्पा । रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा सम्पन्न गरेको छ । जसमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पशुपालन, लघु उद्यम, पर्यटन र सामाजिक सुरक्षालगायत क्षेत्रमा उल्लेख प्रगति गरेको जनाएको छ ।
कार्यक्रममा गाउँपालिकाको केन्द्र तोकेर प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाउन सफल भइएको अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । उहाँले अझैपनि दरबन्दी अनुसार कर्मचारी अभाव, संघीय र प्रादेशिक कानुन नबन्नु, स्रोतको सीमितता जस्ता समस्याहरू रहेपनि अधिकतम नागरिकको हितमा केन्द्रित रहेर काम गरिएको बताउनुभयो । नागरिकको माग र आवश्यकतालाई ध्यानमा राखेर सेवाप्रवाह सुदृढ गर्न, स्थानीय उत्पादनको ब्रान्डिङ र बजारीकरण, समावेशी योजना निर्माण र सूचना प्रवाहलाई व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता अध्यक्ष भण्डारीले व्यक्त गर्नुभयो ।
समीक्षा कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादन गरिएको कार्यप्रगतिका विषयमा आफ्नो प्रस्तुति राख्दै प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले गत वर्ष एक सय ६६ योजना मध्य सम्झोता भएका एक सय ६५ र सम्पन्न भएका एक सय ५९ रहेको बताउनुभयो । उहाँले गतवर्ष योजनातर्फ ९५ दशमलव ७८ प्रतिशत प्रगति भएको बताउनुभयो । यस्तै पूर्वाधार विकासमा अन्तरगत गाउँपालिकामा लसुने–देउराली सडकको ११ सय मिटर कालोपत्र गर्ने काम सम्पन्न भएको, ताहुँमा १५ शैयाको अस्पतालको ८० प्रतिशत निर्माण सम्पन्न भएको, गाउँपालिकाको ट्रस भवनको काम सम्पन्न भएको, रानीवास सामुदायिक होमस्टे तथा संग्रहालयको स्थापना र झोकेडी–किटेनी–रानीवास मो.वा निर्माणको २० प्रतिशत र औधोगिक ग्रामको ६५ प्रगति भएको जानकारी गराउनुभयो ।
स्वास्थ्य सेवामा विस्तारमा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूबाट कुपोषण, खोप, च्यवनप्राश वितरण, योग तालिम, हेमोग्लोबिन जाँचलगायतका स्वास्थ्य कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको स्वास्थ्य शाखा संयोजक शिवप्रसाद अर्यालले बताउनुभयो । उहाँले यसका साथै गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक औषधि वितरण गर्दै आएको बताउनुभयो ।
शिक्षा क्षेत्रमा अन्तरगत विद्यार्थीहरूका लागि आत्मरक्षा तालिम, छात्रवृत्ति वितरण, स्काउट टिम गठन, आइसिटी तालिम, करेसाबारी अभियान, शिक्षक पेशागत तालिमलगायतका कार्यक्रम सम्पन्न गरिएको शिक्षा शाखा प्रमुख मिनादेवी आचार्यले बताउनुभयो
कृषि र पशुपालनका क्षेत्रमा गाउँपालिकाले रैथाने बाली, कोदो, अदुवा, मकै, मौरी पालन, गाईभैंसी नश्ल सुधार तथा दुध संकलन केन्द्र सुदृढीकरणमा जोड दिएको जनाएको छ । यसका सार्थ पशु खोप, औषधि वितरण, कृत्रिम गर्भाधानजस्ता सेवा प्रभावकारी रूपमा गर्दै आएको गाउँपालिकाले दावी गरेको छ ।
सामाजिक सुरक्षा र बालबालिका अन्तरगत गत वर्ष वृद्ध, अपाङ्ग, विधवा, दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता समयमै वितरण गरिएको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताउनुभयो । उहाँले बालबालिकाका लागि विद्यालय बिमा कार्यक्रम, छात्रवृत्ति वितरण, पोषण तालिम लगायत कार्यहरू सफल रुपमा सम्पन्न गरिएको बताउनुभयो ।
समीक्षा कार्यक्रममा सहभागी आमनागरिकहरुले गाउँपालिकाबाट प्राप्त सेवा, सुविधा क्रमिक रुपमा प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँहरुले स्थानीय सरकार सबैभन्दा नजिकको सरकार भएको पछिल्लो समयको कार्यसम्पादनले महसुस गर्न सकिएको बताउनुभएको सूचना प्रविधि अधिकृत सुरज पाठकले जानकारी दिनुभयो ।








