
पाल्पा । तिनाउ गाउँपालिकाले सडक पूर्वाधार विकासमा ध्यान दिँदै आएको जनाएको छ । जसका लागि वार्षिक रुपमा ठुलो लगानी गर्दै आएको जनाएको हो । गाउँपालिकाले हरेक आर्थिक वर्षमा संघ र प्रदेश सरकार संगको समन्वयमा ग्रामीण सडकको स्तरोन्नतिका लागि आर्थिक तथा प्राविधिक क्षेत्रमा लगानी गरिरहेको जनाएको छ ।
चुरे क्षेत्र भएकाले गाउँपालिकामा सडक पूर्वाधार निर्माण गर्न निकै कठिन छ । सीमित स्रोत र भौगोलिक कठिनाइका बाबजुद पनि गाउँपालिकाले यहाँका ग्रामीण सडक निर्माण र स्तरोन्नतिलाई प्राथमिकता दिएर काम गरिरहेको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठको भनाइ छ । आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लागि सडक पूर्वाधारको विकास पूर्व शर्त भएकोले पनि सडकमा लगानी बढाइएको उहाँले बताउनुभयो । विकासका पूर्वाधारहरूमध्ये सडक मुख्य रहनुका साथै सडक पूर्वाधार विकासले अर्थतन्त्रलाई बलियो बनाउने मद्दत गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
तिनाउ गाउँपालिका भित्र रहेका सबै वडा कार्यालयसम्म नियमित सवारीसाधन सञ्चालन हुने अवस्था निर्माण भएको छ । जसले गर्दा सेवाग्राहीहरुले सहज रुपमा सेवा लिन सक्ने भएका छन् । साथै स्थानीय कृषि उपज विक्रीका लागि बजारसम्म लैजान सहज भएको छ । हाल डुम्रे मस्याम सडक, भुम्सा गोरबन्दी सत्यवती सडक, दोभान कचल, दोभान ओखलढुंगा, खुर्साने कचल र रितुङठाडेमा नयाँ सडक विस्तार सडकलगायतका सडक योजनाको काम तीव्र गतिमा भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले धेरै सडकमा गाउँपालिकाले आफ्नै लगानीमा निरन्तर स्तरोन्नतिको काम गरिरहेको बताउनुभयो । भिराला र अप्ठेरा ठाउँमा सपोर्ट वाल र कचवे बनाइएको छ । ठुला र उकाला घुम्तीहरुमा ढलान गरिएको छ । खोला र नदीहरुमा आवश्इकता अनुसार पुल निर्माणको काम भइरहेको गाउँपालिकाका प्रवक्ता यादव अर्यालले बताउनुभयो ।
देश संघीयतामा जानुअघि यस क्षेत्रका ग्रामीण सडकको अवस्था कमजोर थियो । जसका कारण आमनागरिकले हिडडुलकै लागि पनि दुख खेप्नु परेको थियो । स्थानीय उत्पादन किनबेच गर्न निकै समस्या थियो । अहिले ग्रामीण सडकहरु क्रमिक रुपमा स्तरोन्नति हुँदा सहज भएको स्थानीयवासीले बताएका छन् । अझैपनि सुधार गर्नुपर्ने र बाह्रै महिना सहज रुपमा गाडी चल्ने सबै सडक निर्माणमा गाउँपालिकाले ध्यान दिनुपर्ने उनीहरुको भनाइ छ ।
सडकले सहर र ग्रामीण अर्थतन्त्रलाई जोड्ने कार्य गर्ने भएकोले प्राथमिकताका साथ काम भैरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो । केही योजनाहरु संघीय र प्रदेश सरकारको लगानीमा निर्माणको काम भैरहेको उहाँले बताउनुभयो । निर्माणाधीन अवस्थामा रहेका पुल र सडक स्तोरन्नतिको काम सम्पन्न हुँदा गाउँपालिकावासीलाई थप सहज हुने प्रमुख प्रशासकीय अधिकृत सारुको भनाइ छ ।
तिनाउ भित्र पर्ने सिद्धार्थ राजमार्गलाई समेत जोड्दा अहिले कालोपत्र सडक १९ दशमलव २५ किमी रहेको छ । यस्तैगरी कच्चि सडक चार सय १८ दशमलव शून्य ७ किमी, ग्राभल सडक १९ दशमलब शून्य ६ किमी, पक्की पुल १७ वटा र झलुङगे पुल ४० वटा रहेको इन्जिनियर किसन कुँवरले जानकारी दिनुभयो । गाउँपालिका भित्र रहेका सडकको क्रमिक रुपमा स्तरोन्नतिको काम भैरहेको उहाँले बताउनुभयो । करूवा पत्रिकाबाट







