
देउखुरी । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले एक वर्षे कार्यकालका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहका क्षेत्रमा प्राप्त २५ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको हो ।
जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै मन्त्रालयले कार्ययोजना तयार गरी कार्यान्वयनमा जोड दिएको मन्त्री सारुले बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले ८६ दशमलब ५१ प्रतिशत वित्तीय प्रगति गरेको जुन लुम्बिनी प्रदेश सरकार अन्तर्गत सबै मन्त्रालयमध्ये सर्वोत्कृष्ट रहेको उहाँले बताउनुभयो ।
बुटवलमा निर्माण भइरहेको १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको २०८१ भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भएको, स्वास्थ्य प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले ९ वटा नियमावली, कार्यविधि र निर्देशिकाहरू स्वीकृत तथा परिमार्जन गरेको र पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बबाट पारित भई कार्यान्वयनको चरणमा प्रवेश गरेको मन्त्री सारुको भनाइ छ ।
क्यान्सर, मुटु र मृगौला प्रत्यारोपण उपचारका लागि स्वास्थ्य कार्यालयमार्फत सिफारिसको व्यवस्था लागु गरिएको , १३ स्थानीय तहमा २६ जना रोभिङ्ग नर्स खटाइ मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरण सम्बन्धी सेवा र परामर्श सेवा दिइएको सार्वजनिक गरिएको उपलब्धिमा उल्लेख छ ।
यस्तै प्रदेशका सबै अस्पतालहरूमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी वडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको, स्वास्थ्य मन्त्रालय तथा मातहतका निकायहरूमा रहेका ४१ वटा सवारीसाधनमा जिपिएस ट्रयाकिङ प्रणाली लागु गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन टिकट, डिजिटल भुक्तानी, स्तन स्वास्थ्य सेवा क्लिनिक, ९० शैयाको आन्तरिक रोग वार्ड, एम. आर. आई. सेवा सञ्चालनको तयारी, रगत संकलन तथा भण्डारण केन्द्रको व्यवस्थापनको काम भएको मन्त्री सारुले जानकारी दिनुभयो । गुल्मी अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली लागु, मन्त्रालयस्तरमा सरकारी सूचना व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह, अस्पतालमा प्रयोग हुने उपकरण तथा सामग्री व्यवस्थापनका लागि उपकरण व्यवस्थापन सूचना प्रणाली सञ्चालन लगायतका कामहरु भएको उहाँले बताउनुभयो ।
यसैगरी स्वास्थ्य बीमा तथा जनस्वास्थ्य सेवा विस्तार अन्तरगत तीन हजार ८ सय ५१ जना बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरिएको, एक लाख ४ हजारभन्दा बढी नागरिकको नसर्ने रोग स्क्रिनिङ गरिएको, ३९ हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको, ६९ हजारभन्दा बढी गर्भवती महिलाले संस्थागत प्रसूति सेवा दिएको, मन्त्रालय मातहतका दुई हजार ६४ कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराइएको र ९ जिल्लामा मृगौलाको डायलाइसिस सेवा विस्तार गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।
यसका साथै ५० शैयाको भालुवाङ अस्पतालमा कर्मचारी नियुक्ति गरी सेवा सुरु गरिएको, ४ वटा स्वास्थ्य संस्था भवन निर्माण सम्पन्न हुनुका साथै ७ वटा निर्माणाधीन अवस्थामा रहेको बताइएको छ । रिक्त प्राविधिक दरबन्दीमा करार सेवामार्फत जनशक्ति भर्ना गरी सेवा विस्तार, प्रदेशका १२ वटै जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम, ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा, महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन, बिजौरी आयुर्वेद चिकित्सालयबाट सुरु गरिएको स्वर्ण विन्दु प्राशन सेवा विस्तारका लागि मानव कार्यविधि तयारी गरी अब सबै जिल्लामा विस्तारको तयारी भइरहेको समेत मन्त्री सारुले जानकारी दिनुभयो । उहाँका अनुसार तीन जिल्लामा फेमिली हेल्थ प्रोफाइल तयार गरिएको तथा आगामी आर्थिक वर्षमा थप चार जिल्लामा विस्तार गरिने योजना रहेको बताउनुभयो ।









