
पाल्पा । केही वर्ष अघिसम्म वर्खा लागेपछि असार, साउनमा पाल्पामा फाँटहरुमा देखिने हिले कौवा, बकुल्ला, सारसलगायतका जलपक्षीहरु हिजो आज देखिन छाडेका छन् । माडीफाँट, अर्गली, रामपुर, पूर्वखोलामा रहेका फाँट र ससाना खोला किनारामा देखिने जलपक्षी देखिन छाडेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
जलवायु परिवर्तनका कारण पाल्पाका मुख्य फाट तालतलैया र सिमसरा क्षेत्रमा देखिने बकुला, हिलेकौवा, सारस र अन्य प्रजातीका जलपक्षी हराउदै गएको गुरास आत्रेयले बताउनुभयो । सिमसार क्षेत्रको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावटका कारण खोला र सिमसार क्षेत्रको विनासले आहारमा कमी आएकाले पनि जलपक्षी वर्सेनी घट्दै गएको उहाँको भनाइ छ ।
रैनादेवी छहराका कमल घिमिरेले आफू सानो हुँदा खेतका आलीमा देखिने सेतो बकुल्ला र सारस आजभोली देख्नै छाडेको बताउनुभयो । धान रोप्ने समयमा बकुल्लाहरु खेतका छेउछाउमा सेताम्मै देखिन्थे, अहिले खेतीयोग्य जमिन मासेर घर निमार्ण गर्नु सिमसार क्षेत्र जोगाउन नसक्नु, अव्यवस्थित बसोबास, अतिक्रमण, विकास निर्माण र, जलवायु परिवर्तनको असरले सिमसार क्षेत्र मासिँदै गएको उहाँको भनाइ छ ।
तानसेन नगरपालिकाको प्रभाष तालक्षेत्र, कमलपोखरी, माडी फाट, अर्गली र जिल्लाको अन्य सिमसारसँग मानव समाजको अत्यावश्यक र आधारभूत सम्बन्ध रहेको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो । उहााले यही कारण तानसेन नगरपालिका रैथाने र प्रवासी चराको मुख्य बासस्थानका रुपमा रहेका सिमसार क्षेत्रलाई जोगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै यसमा ध्यान दिने बताउनुभयो । खोला र सिमसार क्षेत्रको विनासले माछाहरु मर्दै जाँदा आहारमा कमी आएकाले जलपन्छी वर्सेनी घट्दै गएको उहाँको भनाइ छ । चराहरुको आहार बिहार, बासस्थान संगै संरक्षणको पहल गर्न सके पाल्पाका सिमसार क्षेत्रमा पुन जलपक्षीहरू पूर्णरूपमा देखिन सक्ने डा.राम बहादुर राउतको विश्वास छ । लामो समयदेखि जलवायु परिवर्तनको प्रभाव र न्यूनीकरणका बारेमा अध्ययन गर्दै आउनु भएका राउतले विगतमा पाल्पाका सिमसार क्षेत्रमा चखेवा, जंगली हाँस, सेतो बकुल्ला, हिले कौवालगायतका जलपक्षी, माछा र शंखे किराका प्रजातिहरु पाइने गरेको बताउनुभयो ।
संरक्षणकर्मीले सिमसार क्षेत्रमा पाइने जलपक्षीको संरक्षण गर्न दीर्घकालीन योजना बनाउन जोड दिएपनि यसको पहल भने हुन नसकेको बताउदै आएका छन् । सिमसारलाई जलीय जीवदेखि जलपक्षीको संसार मानिन्छ तर सिमसारमै आएको समस्याले पारिस्थितिकीय प्रणालीमा असर पारिरहेको छ । साँघुरिँदै गएको सिमसार क्षेत्र संरक्षणमा जनचेतना जगाउन स्थानीयस्तरबाट नै जागरुक हुनुपर्ने देखिन्छ । सिमसार जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थल हो । सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै सरकारले पनि सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ । तर पाल्पाका स्थानीय तहले भने यस विषयमा खासै चासो दिएको पाइदैन । स्थानीय, प्रदेश र संघीय सरकारले सिमसार क्षेत्र संरक्षणका लागि जनस्तरमा जनचेतना फैलाउन सकेको खण्डमा सिमसार क्षेत्र संरक्षण हुनुका साथै पुन जलपक्षी देख्न सकिने सरोकारवालाको भनाइ छ ।







