
पाल्पा । रैनादेवी छहरा ३ भुवनपोखरीमा सामुदायिक विद्युतको चरम लापरबाहीका कारण विद्युत अनियमित हुँदा जनताले दुख पाउने गरेका छन् । भुवनपोखरीका छचुवा, अर्सेउदी, ढुकुरखोला दमार, पलासपाटा, चिसापानी लगायतका टोलमा सामुदायिक विद्युत सेवा अनियमित हुँदा दैनिक जनजीवन प्रभावित हुने गरेको हो । विद्युत अनियमितका विषयमा स्थानीयहरुले पटक पटक सम्बन्धित निकायलाई जानकारी गराउदा पनि सुनुवाइ नभएको स्थानीयवासी लक्ष्मण भट्राईले गुनासो गर्नुभयो ।
भुवनपोखरीका स्थानीयले सामुदायिक विद्युत प्रणालीलाई हटाएर चाँडै केन्द्रीय विद्युत प्रशारण लाइनमा जोड्न माग गरेको भएपनि सामुदायिक विद्युत उपभोक्ता समितिले ढिलासुस्ती गर्दा यस क्षेत्रका नागरिकले अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी गोपाल भटराईले बताउनुभयो । उहाँका अनुसार पटक–पटक भेला गर्ने, सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएको र मर्मत सम्भारमा समेत ढिलाई हुँदै आएको बताउनुभयो ।
सामुदायिक विद्युत सेवा अनियमित भएको बारे वडा अध्यक्ष प्रदिप पौडेलले सामुदायिक विद्युतीकरणमा भएको विकृतिका कारण स्थानीयले नियमित विद्युत सेवा नपाएको बताउनुभयो । उहाँले स्थानीयहरुको गुनासो आइरहेकोले समस्या हल गर्न स्थानीय सरकारले आवश्यक पहल गरेको भएपनि उपलब्धि नभएको बताउनुभयो ।
सामुदायिक विद्युतलाई विद्युत प्राधिकरणको केन्द्रीय प्रशारणलाईनमा जडान गर्नका लागि पटक पटक भेला गरेर काम अगाडि बढाएको भएपनि उपभोक्ता समितिको मौनताले जनता उज्यालोमा बस्न नपाएको स्थानीय विशाल दर्लामीको भनाइ छ । उहाँले आवश्यक प्रकृया पूरा गरेर विद्युुत प्राधिकरण पाल्पाको सिफारिसमा फाइल विभागसम्म पुगेपनि जिटीजेट ( जाइका) संस्थासंग उपभोक्ता समितिले लिएको कर्जा नतिरेका कारण खारेजीको फाइल स्वीकृत हुन नसकेको बताउनुभयो । यो समस्या समाधानमा उपभोक्ता समिति जिम्मेबार नहुँदा नागरिकले दुख पाएका छन् । यस विषयमा भुवनपोखरी सामुदायिक विद्युत उपभोक्ता समितिका अध्यक्ष लालबहादुर दर्लामीसंग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
नेपाल विद्युत प्राधिकरण, पाल्पा वितरण केन्द्रका प्रमुख दिलिप मरासिनिसंग बुझ्दा करिब २१ लाख रकम उपभोक्ता समितिले तिर्नुपर्ने देखिएकोले सो रकम मिलान नहुँदा केन्द्रीय प्रशारण लाइनमा जडान गर्ने विषयको फाइल विभागमै रोकिएको जानकारी दिनुभयो । केही वर्ष अघि बसेको भेलामा उपभोक्ता समितिका अध्यक्ष दर्लामीले समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाएपनि काम भने हुन सकेको छैन । उपभोक्ता समितिले आर्थिक अनियमितता गरेको, समयमा खाम्दानी खर्च सार्वजनिक नगरेको, मिटर खरिदका लागि पैशा उठाएपनि मिटर खरिद नगर्दा एकै घरबाट २, ३ घरमा विद्युत लैजानु परेको जस्ता विषयमा आमनागरिकले गुनासो गरेका छन् । करूवा पत्रिकाबाट








