
तिनाउ गाउँपालिका १ नं. वडाको सानिउधाङ्ग, झिंगामारा र रामपाटामा रहेका ५२ घरमा पानीको धारा जडान गरिएको छ । एक घर, एक धारा अभियानलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको गाउँपालिकाले थप ५२ घरमा धारा जोडन सफल भएको हो । सम्पन्न भएको योजनाको औपचारिक शुभारम्भ मंगलबार भएको हो ।
गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/०८२ मा २२ लाख र जनश्रमदान ५ लाख २० हजार गरी कुल २७ लाख २० हजार लगानीमा सम्पन्न भएको खानेपानी योजना अन्तरगत धारा जडान गरिएको हो । सानिउधाङ्ग, झिंगामारा र रामपाटामा खानेपानी उपभोक्ता समितिको नेतृत्वमा कार्य सम्पन्न गरी ५२ घरका धारा जडान गर्न सफल भइएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले जानकारी दिनुभयो । यहाँ क्षेत्रमा करिब ६५ घरधुरी रहेका उहाँको भनाइ छ । आवश्यकता अनुसार अन्य घरहरुमा पनि पानीको धारा जडान गरिने अध्यक्ष थापाले बताउनुभयो ।
तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले गाउँपालिकाले खानेपानी योजनालाई प्राथमिकताका साथ अगाडि सारेको बताउनुभयो । उहाँले एक घर एक धारा अभियानलाई छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि संघ, प्रदेशको समन्वयमा आफूहरुले योजना निर्माण गरी तीव्रता दिइएको जानकारी दिनुभयो । २०५४ सालमा निर्माण भएको संरचनाहरु जीर्ण बन्दै जाँदा खानेपानीलाई नागरिकले सास्ती खेप्न नपरोस भनेर अभियान अन्तरगत खानेपानीका लागि आवश्यक संरचनालाई व्यवस्थित गरी घर घरमा धारा जोडिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । गाउँपालिकाका नागरिकालाई खानेपानी र सिंचाई सुविधाको सहजताका लागि गम्भीर हरेको उहाँले बताउनुभयो ।
गाउँका स्थानीयले खानेपानीका लागि भोग्नु परेको समस्यालाई ध्यानमा राखेर सञ्चालन गरिएको योजना समयमै सकिएर घरघरमा पानीको धारा जोडने अवस्था बनेकोमा वडाध्यक्ष भुवन सिं चिदीले खुसी व्यक्त गर्नुभयो । उहाँले नागरिकको आवश्यकता र मागलाई गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिएकोमा धन्यवाद समेत दिनुभयो ।
योजना सम्पन्नपछि घरमै धारा जडान भएपछि पिउने पानीका लागि घण्टौँ समय बिताउनु पर्ने बाध्यता हटेको स्थानीय अम्मर तरामु मगरले बताउनुभयो । उहाँले अब खानेपानीको समस्या हटेको र पानीको जोहो गर्ने समयमा अन्य काम गर्न सकिने बताउनुभयो । सानीउधाङ्ग, झिंगामारा र रामपाटाका स्थानीयहरुले पानीको सहज व्यवस्थापन भएपछि स्थानीय सरकारको अनुभूति गर्न पाएको बताउदै गाउँपालिकाको सहयोगको प्रशंसा गरेका छन् । करुवा पत्रिकाबाट








