
पाल्पा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले गएका चार आर्थिक वर्षमा चार करोड ३१ लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
कार्यलयले चार आर्थिक वर्षमा ६० हजार ५ सय ८६ कारबाहीमा परेका सवारीसाधनबाट उक्त राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचार्यले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८/७९ मा १८ हजार ४ सय ६६ वटा सवारीसाधन कारबाहीबाट एक करोड १३ लाख ७१ हजार ५ सय संकलन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७९/८० मा १९ हजार ८५ वटा सवारीसाधन कारबाहीमा परेका थिए । जसबाट एक करोड ३३ लाख ७३ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख आर्चाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १६ हजार ८ सय ६७ वटा सवारीसाधनबाट एक करोड १२ लाख ६१ हजार ५ सय र गत आर्थिक वर्ष २०८१/८२ मा ६ हजार १ सय ६८ सवारीसाधनबाट ७१ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको पछिल्ला आर्थिक वर्षहरुको राजस्व संकलनको अवस्था हेर्दा हरेक आर्थिक वर्षमा घट्दो क्रममा रहेको प्रमुख आचार्यको भनाइ छ । उहाँले ट्राफिक प्रहरीले राजस्व संकलन बढी गर्नु राम्रो नभएको बताउदै जिल्लामा ट्राफिक सचेतनाका कारण पनि राजस्व संकलनमा कमी आएको बताउनुभयो । जसबाट ट्राफिक नियम पालना गर्नेको संख्यामा क्रमिक सुधार भएको मान्न सकिने प्रमुख आचार्यले बताउनुभयो ।
जिल्लामा सबैभन्दा बढी मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् । गत आर्थिक वर्षमा मात्रै दुई हजार २ सय १७ कारबाहीबाट २८ लाख २८ हजार रुपैयाँ संकलन भएको छ । त्यसपछि जीप, कार एक हजार ७ सय ११ बाट १६ लाख ९७ हजार , टिपर ट्रक एक हजार ५ सय २९ बाट १८ लाख ८४ हजार ५ सय, बस मिनीबस ४ सय ६० बाट ५ लाख ६६ हजार ५ सय , टेक्टर दुई सय ५१ बाट एक लाख ८२ हजार राजस्व संकलन भएको छ । करुवा पत्रिकाबाट









