
पाल्पा । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योग व्यवसाय दर्ता गर्ने भन्दा खारेजीको संख्या बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ । यो क्रम पछिल्लो वर्षमा वृद्धि हुँदै आएको छ ।
देश संघीय संरचनामा गएपछि पाँच लाखसम्मको लगानीका उद्योग तथा व्यवसाय दर्ताको अधिकार स्थानीय तहलाई भएकाले घरेलु तथा साना उद्योग कार्यालयमा बन्द गरेर स्थानीय तहमा दर्ता गर्नेगरी व्यसायीले लगतकट्टा गर्ने गर्दा कार्यालयमा दर्ता भन्दा लगतकट्टाको संख्यामा वृद्धि देखिएको उद्योग अधिकृत श्यामकुमार पौडेलले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा उत्पादनमूलक उद्योग ८४ वटा दर्ता भएकोम दुई सय ३३ वटा लगतकट्टा भएको छ । यस्तैगरी वाणिज्यतर्फ ७५ वटा दर्ता भएकोमा दुई सय ६९ वटा फर्म लगतकट्टा भएको उद्यम विकास सहजकर्ता मनोज घिमिरे जानकारी दिनुभयो । जिल्लामा गएको वर्ष ३५ करोड ३२ लाख पूंजि लगानीमा एक सय ५९ वटा उद्योग र वाणिज्यका फर्म दर्ता भएका छन् । जसबाट ४६ लाख ६० हजार ८ रुपैयाँ राजस्व संकलन भएको उद्यम विकास सहजकर्ता घिमिरेले बताउनुभयो । आर्थिक वर्षको अन्तिम सम्ममा जिल्लामा ५ सय ७२ उद्योगले नविकरण गरेका छन् भने वाणिज्यतर्फ ८ सय ५१ फर्मले नविकरण गरेको उहाँको भनाइ छ ।
पाल्पामा आर्थिक वर्ष २०८१/८२ मा उद्योग ३ हजार ९ सय १ र वाणिज्य ४ हजार ४ सय ८ फर्म रहेको तथ्याँक छ । अहिले घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्दा साधारण नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने दलित, महिला र अपांग नागरिकलाई ७५ प्रतिशत छुट सुविधा उपलब्ध रहेको उद्योग अधिकृत पौडेलले जानकारी दिनुभयो । यसका साथै दुइ वर्ष नागेका अर्थात २०७९÷८० मा गर्नुपर्ने नविकरण नगरी बसेका फर्मको नविकरणको जरिवाना शुल्कमा पौष मसान्तसम्म ७५ प्रतिशत छुटको व्यवस्था रहेको उहाँले बताउनुभयो । यो सुविधा फर्म नविकरण वा खारेजी दुबैमा लागु हुने घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ । करूवा पत्रिकाबाट








