दोस्रो रणउजिरेश्वरी भगवती कप हुदै

पाल्पा । श्रीनगर भलिबल क्लबको आयोजनामा दोस्रो रणउजिरेश्वरी भगवती कप प्रतियोगिता हुने भएको छ । साउन २८ गतेदेखि भदौ १ गतेसम्म तानसेन टुंडिखेल मैदानमा प्रतियोगितामा प्रतियोगिता सञ्चालन हुने आयोजक क्लबले जनाएको छ ।

प्रतियोगिताका विषयमा खेलकुद पत्रकार मञ्च पाल्पाले गरेको पत्रकार सम्मेलनमा पाल्पाको ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्राको अवसर पारेर क्लबस्तरीय खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष कृष्णबहादुर आलेले बताउनुभयो । उहाँले प्रतियोगितामा राष्ट्रियस्तरका क्लबको सहभागिता रहने बताउनुभयो । भलिबल खेलको माध्यमबाट स्थानीय, राष्ट्रियस्तरमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष आलेको भनाइ छ । उहाँले श्रीनगर भलिबल क्ल्बले स्थानीय युवा खेलाडीको प्रतिभा उजागार गर्ने सघाउने खेलकुद गतिविधि गर्नुका साथै खेल पर्यटनको विकासमा सहभागिता गराउने रचनात्मक क्रियाकलाप गर्दै आएको बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ६ देखि १० समूह र महिलातर्फ कम्तीमा ५ समूहले भाग लिने विश्वास लिएको क्लबका सचिव दीपक चौहानले बताउनुभयो । करिब १८ लाख खर्च हुने अनुमानका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको सबै रकम चन्दाबाट उठाएर कार्यक्रम सम्पन्न गरिने उहाँले बताउनुभयो । क्लबको अभियानका लागि आवश्यक बजेट व्यवस्थापनमा यसअघि पनि देशविदेशमा रहेका खेलप्रेमी व्यक्तित्वबाट चन्दा संकलन भएको र यसपटक पनि उहाँहरुकै सहयोगबाट प्रतियोगिता सफल हुने सचिव चौहानको भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने समूहले एक लाख ७५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार, तेस्रो हुनेले ६० हजार र सान्त्वना हुनेले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तैगरी महिलातर्फ प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रोले १० हजार र सान्त्वना हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकको भनाइ छ । विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिनेछ ।

पत्रकारसम्मेलनमा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले प्रतिभा पहिचान र खेलकुद पर्यटन विकासका लागि क्लबले गर्दै आएको गतिविधि प्रशंसायोग्य रहेको बताउनुभयो । उहाँले यस्ता प्रतियोगितामा स्थानीय सरकारहरुले लगानी गर्नुपर्ने बताउदै चन्दा संकलनबाटै राष्ट्रियस्तरको प्रतियोगिता गर्न खोज्नु अत्यन्तै महत्वपूर्ण विषय भएको बताउनुभयो ।

मञ्चका अध्यक्ष माधवप्रसाद अर्यालले स्रोत व्यवस्थापन र परिचालनमा जिल्लाका सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले प्रतियोगिता सफल बनाउन सञ्चार क्षेत्रबाट हुनसक्ने सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुयभो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय