
पाल्पा । तानसेनका युवाहरुले पछिल्लो समय लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन सक्रियता देखाएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको राम्रो माध्यम लाखे नाचमा पाका पुस्ताको रुचि कम र पुस्ताहन्तान्तरणमा कमि आएका कारण यसको संरक्षण गर्न स्थानीय युवाले सक्रियता देखाएका हुन ।
विशेषगरी नेवार समुदायमा प्रचलित लाखे नाच आधुनिकताको संगै लोप हुन थालेपछि पाल्पाली नाट्य कला सांस्कृति समूहमा रहेका युवाहरु लाखे जोगाउन सक्रिय भएका हुन । लाखे नाच खास गरी घण्टाकर्णदेखि सुरु भई कृष्ण जन्माष्टमीसम्म नाच्ने परम्परा रहेको छ ।
मुखमा डरलाग्दो मुकुण्डो लगाएर दुईमध्ये एक जना लाखे र अर्को भुच्चा भएर नाचिने यो नाचमा लाखेले पछाडिपट्टि चौरी गाईको चमर र महिलाले लगाउने घाँघर, चोलो लगाउने गरिन्छ । भुच्चाले पुरुष भेषमा पछाडिपट्टि मकैको पात वा कपडाको पुच्छर लगाउने गर्छन् ।
तानसेनका युवाहरुले घण्टाकर्णकदेखि भगवती जात्रा (कष्ण जन्माष्टमी) को दिनसम्म हरेक दिन लाखे प्रदर्शन गर्ने गरेको समूहका अध्यक्ष किरण चित्रकारले बताउनुभयो । उहाँले बाबु बाजेदेखि चल्दै आएको परम्परा विर्सिन थालेपछि युवाहरु जुटेर आफ्नो संस्कृति संरक्षणमा लागेको बताउनुभयो ।
अरु समुदाय माझ नेवारी संस्कृति लोकप्रिय रहेको भएपनि नेवार समुदायले संस्कृति संरक्षण गर्न नसकिएको अध्यक्ष चित्रकारको भनाइ छ । उहाँले लाखे नाच संरक्षणमा अन्य जातजातीले पनि आफूहरुलाई सहयोग मिलेको बताउनुभयो । अहिले भने लाखे नाचले नयाँ तथा पुराना पुस्तालाई आकर्षित गरेको छ । तानसेनको बसपार्क, हुलाकचोक, टक्सार, शीतलपाटी, नारायणस्थान, असनटोल, वसन्तपुरलगायतका स्थानमा लाखे नाच देखाइने योजना रहेको समूहका अध्यक्ष चित्रकारले जानकारी दिनुभयो ।
हरेक दिन साँझ ६ बजेदेखि तीन घण्टा लाखे नाच देखाइने छ । काठमाडौँ उपत्यकामा प्रचलित लाखे नाच पाल्पासहित अन्य स्थानमा पनि देखाइन्छ । तानसेनसहित नेवार बस्ती भएका रामपुर, सराई, हुमीन, हार्थोक, आर्यभन्ज्याङमा पनि लाखेनाच नाचिने गरिन्छ ।








