
पाल्पा । करदाता सेवा कार्यालय पाल्पाको राजस्व संकलनमा १२ प्रतिशतले वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षमा कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को लक्ष्यको तुलनामा १२ प्रतिशतले बढी राजस्व संकलन गरेको जनाएको हो ।
जिल्लामा राजस्व संकलन वृद्धि हुनुमा कर सम्बन्धी सचेतनामूलक कार्यक्रमको व्यपकता, आर्थिक ऐनले प्रदान गरेको छुट सुविधाको तीव्र प्रचारप्रसार र अन्य आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पुँजीगत खर्च बढ्नु रहेको करदाता सेवा कार्यालयका प्रमुख सन्तोष सुवेदीले बताउनुभयो ।
आर्थिक वर्ष २०८०÷८१ मा लक्ष्यको ७५ प्रतिशत राजस्व संकलन गर्दा ५५ करोड ५३ लाख ५७ हजार ७९० रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ८७ प्रतिशत राजस्व जम्मा गरेको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ७० करोड २२ लाख ७२ हजार ९७० रुपैयाँ संकलनको लक्ष्य रहेकोमा ६० करोड ८१ लाख ९५ हजार ४७० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको जानकारी दिनुभयो । यो राजस्व कार्यालय स्थापनापछिको सबैभन्दा बढी भएको कार्यालयले जनाएको छ ।
संकलन भएको राजस्वमा आयकरबाट ३२ करोड ९० लाख ५२ हजार २३०, मूल्य अभिवृद्धिकरबाट २६ करोड ९४ लाख २४ हजार २४० र अन्तशुल्कबाट ९७ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख सुवेदीको भनाइ छ । कार्यालयले आयकरतर्फ लक्ष्यको ७९ प्रतिशत, मूल्य अभिवृद्धिकरतर्फ लक्ष्यको ९९ प्रतिशत र अन्तशुल्कतर्फ लक्ष्यको ७६ प्रतिशत राजस्व जम्मा गरेको उहाँले बताउनुभयो ।
करुवा पत्रकिाबाट







