
पाल्पा । जिल्लामा पछिल्लो चार वर्षको अवधिमा दुई सय ५८ वटा सवारी दुर्घटनामा एक सय २७ जनाको मृत्यु भएको छ । जसमा गम्भीर घाइते एक सय ८० र सामान्य घाइते दुई सउ ७५ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
आर्थिक वर्ष २०७८÷७९ मा ५१ वटा सवारी दुर्घटनामा २५ जनाले ज्यान गुमाएका थिए । जसमा ५८ जना गम्भीर घाइते र ३२ जना सामान्य घाइते भएको तथ्याँक छ । यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ४७ वटा सवारी दुर्घटनामा ३९ जनाले ज्यान गुमाएका थिए । जसमा ५२ जना गम्भीर घाइते र ६१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक प्रविण आचाय जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा ४४ वटा सवारी दुर्घटनामा ३६ जनाले ज्यान गुमाएका थिए । जसमा ४२ जना गम्भीर घाइते र ४८ जना सामान्य घाइते भएका थिए भने गत आर्थिक वर्ष २०८१÷८२ मा एक सय ६६ वटा सवारी दुर्घटनामा २७ जनाले ज्यान गुमाएका छन् । सोही वर्ष दुर्घटनामा परेर २८ जना गम्भीर घाइते र एक सय ३४ जना सामान्य घाइते भएको उहाँको भनाइ छ ।
पाल्पामा पछिल्लो समय सवारी दुर्घटना बढ्दो समस्याका रुपमा देखिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभयो । उहाँले पाल्पाको भौगोलिक अवस्था, साँघुरा सडक, उकालो ओरालो, तथा बढ्दो सवारी चापका कारण पनि दुर्घटना बढेको बताउनुभयो । बढ्दो दुर्घटना न्यूनीकरणका लागि विभिन्न निकायसंगको समन्वय र सहकार्यमा सचेतना तथा चेकजाँचलाई कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीको भनाइ छ ।
पाल्पामा दुर्घटना न्यूनीकरणका लागि विद्यालयस्तरमा ट्राफिक सचेतना, नियमित मापासे, लापसेको चेकजाँच, घुम्तीमा कन्केभ मिरर व्यवस्थापन, नागरिक सुनुवाइ जस्ता कामलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको प्रमुख आचार्यको भनाइ छ । गत आर्थिक वर्षमा मात्रै सवारी दुर्घटना न्यूनीकरणका लागि एक सय ३७ वटा सचेतनाका कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








