
पाल्पा । स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच बढाउने लुम्बिनी प्रदेश सरकारको लक्ष्य रहेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । उहाँले लुम्बिनीमा स्वास्थ्य सेवा अब पहुँचको सवाल मात्र नभै प्रभावको प्रमाण पनि देखिन थालेको बताउनुभएको हो । प्रदेशले पछिल्ला केही वर्षयता जनस्वास्थ्य सेवामा गरेको लगानी र ध्यानले उपलब्धि देखिन थालेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
बिहीबार लुम्बिनी प्रदेश सरकारले एक आर्थिक वर्षमा गरेको प्रगति सावजनिकीकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले आर्थिक वर्ष २०८१/८२ मा प्रदेश सरकारद्वारा भएका कार्यक्रम, सेवा विस्तार, भौतिक पूर्वाधार र नीतिगत सुधारहरूको नतिजाका आधारमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको पुष्टी हुने बताउनुभयो ।
मुख्यमन्त्री आचार्यले संस्थागत प्रसूति, पूर्ण खोप, जटिल रोगको उपचार, किशोरी पोषणदेखि लिएर अत्याधुनिक अस्पताल निर्माणसम्मका कार्यक्रमले जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको दावी गर्नुभयो । उहाँले अब सेवा खोज्न धेरै टाढा जानुपर्ने अवस्था हट्दै गएको र सेवा घरदैलोमै पुगेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले जटिल रोगी र जेष्ठ नागरिकलाई घरदैलोमै सेवा दिँदै आएको छ । ३ हजार ८ सय ५१ जना जटिल रोगीलाई आर्थिक सहयोग दिएको तथ्याङ्क रहेको छ । यस्तै ८० वर्षभन्दा माथिका ३९ हजारभन्दा बढी जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा पु¥याएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका साथै प्रदेश सरकारले स्वास्थ्यका क्षेत्रमा किशोरीको स्वास्थ्यप्रति संवेदनशीलता, आधारभूत पूर्वाधारमा सहयोग, १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल निर्माणको शुभारम्भ, गाउँगाउँमा प्रयोगशाला सेवा र रोभिङ नर्स सेवा चलाएको स्वास्थ्य मन्त्री खेमबहादुर सारुले बताउनुभयो । उहाँले गाउँका गर्भवती महिला र बालबालिकाका लागि ‘ल्याब सेवा’ चलाइएको बताउनुभयो ।
यसका साथै मानसिक स्वास्थ्य रणनीति र मृगौला सेवा विस्तार, डिजिटल ट्र्याकिङ र विशेषज्ञ सेवा विस्तारले सवारीसाधनमा जिपीएस ट्र्याकिङले पारदर्शिता र जवाफदेहिता बढाएको मन्त्री सारुको भनाइ छ ।









